चीनद्वारा नेपाललाई २० लाख डलर बाढी राहत सहयोग
चिनियाँ रेडक्रस सोसाइटीले उपलब्ध गराएको थप २ लाख अमेरिकी डलर पनि हस्तान्तरण ।
काठमाडौं : नेपालका लागि चीनका राजदूत महामहिम झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी चीन सरकारद्वारा नेपाललाई प्रदान गरिएको २० लाख अमेरिकी डलर बराबरको आकस्मिक बाढी राहत सहायता हस्तान्तरण गरेका छन्।
आइतबार भएको भेटका क्रममा राजदूत झाङले चीन सरकारका तर्फबाट नेपाल सरकारलाई उपलब्ध गराइएको उक्त आकस्मिक राहत सहयोग हस्तान्तरण गरेका हुन्। पछिल्लो समय नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चीन सरकारले उक्त सहयोग उपलब्ध गराएको हो।
यसै क्रममा चिनियाँ रेडक्रस सोसाइटीले नेपालका बाढीपीडितका लागि उपलब्ध गराएको थप २ लाख अमेरिकी डलर पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरिएको छ। चीन सरकार र चिनियाँ रेडक्रस सोसाइटीबाट प्राप्त सहयोग बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग गरिने अपेक्षा गरिएको छ।
नेपालमा पछिल्लो समय आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विशेषगरी रसुवाको भोटेकोशी तथा त्यससँग जोडिएका नदी प्रणालीमा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्याउनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्। बाढीका कारण सडक, पुल, जलविद्युत आयोजना, सञ्चार तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।
विपद्बाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेका बेला अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई राहत तथा उद्धारका लागि सहयोग प्राप्त भइरहेको छ। यसै क्रममा चीन सरकार र चिनियाँ रेडक्रस सोसाइटीले उपलब्ध गराएको आर्थिक सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल र चीनबीच लामो समयदेखि मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्ध रहँदै आएको छ। प्राकृतिक विपद्का समयमा चीनले नेपाललाई मानवीय तथा राहत सहयोग उपलब्ध गराउँदै आएको छ। अर्थमन्त्री डा. वाग्ले र राजदूत झाङबीचको भेटमा विपद्का कारण उत्पन्न परिस्थितिका साथै नेपाललाई आवश्यक पर्ने सहयोगका विषयमा समेत छलफल भएको जनाइएको छ।
.gif)

.png)

