रविसँग मुख्यमन्त्री थापामगरको गुनासो, बाढी प्रभावित क्षेत्रमा समन्वयको अभाव
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपछि उद्धार तथा राहतमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो गरेका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न बनस्थलीस्थित पार्टी कार्यालय पुगेका मुख्यमन्त्री थापाले प्रदेश सरकारले आफ्नै ढंगले काम गरिरहेको बताएका हुन्।
उनले तीन तहका सरकारले कसले के काम गर्ने स्पष्ट हुनुपर्ने बताउँदै प्रधानमन्त्री वालेन्द्र शाह प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारलाई जानकारी नदिइएको गुनासो गरे। मुख्यमन्त्री थापाले बाढी प्रभावित क्षेत्रमा राहत पठाउन समस्या भइरहेको र पठाइएको राहतसमेत बट्टारमै जम्मा भएको तथा त्यसभन्दा माथिल्लो क्षेत्रमा पुर्याउन कठिनाइ भएको जानकारी लामिछानेलाई गराए।
जलवायु परिवर्तनका कारण आगामी दिनमा जोखिम बढ्न सक्ने भन्दै खोला किनारका बस्ती स्थानान्तरणका लागि तीनै तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ थियो। भेटमा रास्वपा सभापति लामिछानेले विपद्का बेला प्रदेश सरकारले स्थानीय र संघीय सरकारबीच समन्वयकारी भूमिका खेल्नुपर्ने बताए। उनले विपद्को समयमा सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गर्दै संघीय सरकारका तर्फबाट आवश्यक सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाए।
.gif)

.png)

