कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग


२०८३ भदौ १२ शुक्रबार १६:१९ बजे
तस्बिरः एपिएफ

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्।

नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि बाढीपीडितको उद्धार तथा राहतका लागि कोषमा सहयोग जुट्न थालेको हो। सरकारले कोषमा रकम जम्मा गर्ने तथा सहयोग परिचालनको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्। व्यक्तिगततर्फको नगद सहयोग भने दाताले मन्त्रालयमै पुगेर उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।

नयाँ सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।

यसअघि बिहीबार ६ घण्टाको अवधिमै नेपालका निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

अर्थ मन्त्रालयका अनुसार उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग भने समावेश गरिएको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७