थुनिएको तालको पानी घट्यो, चिनियाँले पुनः सुरु गरे उद्धार
काठमाडौं : नेपाल–चीन सीमा नजिकै चीनको तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह केही घटेपछि चिनियाँ अधिकारीहरूले रोकिएको खोज तथा उद्धार कार्य पुनः सुरु गरेका छन्। ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिम बढेपछि केही घण्टाअघि उद्धार कार्य स्थगित गरिएको थियो।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तालको पानीको सतहमा केही कमी आएपछि अहिले अवस्था सामान्य बन्दै गएको छ र उद्धार कार्य पुनः सुचारु गरिएको हो। पछिल्लो विवरणअनुसार तालबाट पानी बाहिर बहने (ओभरफ्लो) क्रम पनि रोकिएको छ। यसअघि पानीको सतह बढ्दै गएपछि बाढीको जोखिम बढेको भन्दै चिनियाँ अधिकारीहरूले करिब तीन घण्टाका लागि उद्धार प्रयास रोकेका थिए।
तिब्बततर्फको जलाधार क्षेत्रमा भएको यही परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशूली नदीमा बाढीको जोखिम बढेको हो। तालको पानी घटेको र ओभरफ्लो रोकिएको खबरले तल्लो तटीय क्षेत्रमा केही राहत भए पनि जोखिम भने पूर्ण रूपमा टरिनसकेको अधिकारीहरूले बताएका छन्।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा अझै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी रसुवाको स्याफ्रुबेँसीदेखि मुग्लिनसम्म त्रिशूली नदी किनारमा रहेका नागरिकलाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनारमा रहेका नागरिकलाई नदीको बहाव नजिक नजान तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
.gif)

.png)

