भोटेकोशी बाढीमा ४६९ जनाको मृत्यु, ३ हजार २५३ जनाको उद्धार


२०८३ भदौ १२ शुक्रबार ०८:४९ बजे

काठमाडौं: रसुवामा आएको विनाशकारी बाढीपछि मृतकको संख्या ४६९ पुगेको छ भने झन्डै एक हजार व्यक्ति अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांक सार्वजनिक भएको छ।

गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी)का अनुसार शुक्रबार बिहान साढे ७ बजेसम्म बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट ४६९ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १७५ जना छन्।

त्यस्तै नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको एनईओसीले जनाएको छ। विपद्का घटनामा ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका तीन जना छन्। यस अवधिमा ३ हजार २५३ जनाको उद्धार गरिएको सरकारी तथ्यांकमा उल्लेख छ।

उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन प्रभावित क्षेत्रमा ९ हजार ४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये नेपाली सेनाका ४ हजार २४३, नेपाल प्रहरीका ३ हजार ३१८ र सशस्त्र प्रहरीका १ हजार ८४४ जना छन्। सरकारले सार्वजनिक गरेको विवरणअनुसार ९७७ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार जना छन्।

दुर्गम तथा प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पुर्‍याउन हवाई उद्धारलाई समेत प्राथमिकता दिइएको छ। नेपाली सेनाका छ र निजी क्षेत्रका नौ गरी १५ वटा हेलिकप्टर उद्धार तथा राहत कार्यमा परिचालन गरिएको एनईओसीले जनाएको छ। यसैबीच सरकारले रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ गरी तीन जिल्लाका लागि २ करोड ५० लाख रुपैयाँ राहत रकम पठाएको छ। प्रभावित क्षेत्रमा स्लिपिङ ब्याग, ब्ल्याङ्केट, चार्जर, बिस्कुटलगायत अत्यावश्यक सामग्री बोकेका १० वटा ट्रकसमेत पठाइएको सरकारले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७