पहिरोले बनाएको ‘ब्यारियर लेक’मा विशेष निगरानी राख्न सीको निर्देशन
काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिरोका कारण बनेको अवरोध ताल (ब्यारियर लेक) र आसपासको भूभागको स्थिरतामा विशेष निगरानी राख्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का वरिष्ठ नेताहरूको शुक्रबार बसेको बैठकमा राष्ट्रपति सीले उद्धार तथा राहत कार्यका क्रममा सम्भावित थप विपद्को जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको बैठकको विवरणअनुसार सीले पहिरोका कारण बनेको ताल तथा आसपासका पहाडको स्थिरतामा नजिकबाट निगरानी राख्न र थप विपद् रोक्न प्रभावकारी उपाय कडाइका साथ अपनाउन निर्देशन दिएका छन्। बैठकमा सीले विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न सहभागी सबैलाई एक मिनेट मौनधारण गर्नसमेत आग्रह गरेका थिए।
यो निर्देशन दिइएको केही समयपछि उक्त अवरोध तालले बाँध नाघेर पानी बग्न थालेको खबर सार्वजनिक भएको हो। बुधबार आएको ठूलो बाढीपछि बनेको ताल ओभरफ्लो हुन थालेपछि आसपासमा थप पहिरो तथा बाढीको जोखिम बढेको छ। यसले जीवित व्यक्तिको खोज तथा उद्धार कार्यसमेत थप चुनौतीपूर्ण बनाएको छ। सिन्ह्वाका अनुसार विपद् उच्च हिमाली तथा चिसो क्षेत्रमा, भिरालो भूभाग र परिवर्तनशील मौसमका बीचमा भएको हो।
प्रभावित क्षेत्र वरपर धेरै हिमनदी, हिमताल तथा सम्भावित भौगर्भिक जोखिम रहेकाले उद्धार तथा राहत कार्य निकै कठिन बनेको चिनियाँ अधिकारीहरूले बताएका छन्। चीनले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार तिब्बततर्फ पहिरो तथा बाढीमा परी ३ जनाको मृत्यु भएको र ५५८ जना अझै बेपत्ता छन्।
यसैबीच, बिहीबार दिउँसो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालतर्फ १०० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका थिए। उनले नेपाल र चीनबीच खोज तथा उद्धारका लागि निकट सम्पर्क र समन्वय भइरहेको तथा नेपालको आवश्यकताअनुसार चीन आपत्कालीन सहायता उपलब्ध गराउन तयार रहेको बताएका थिए।
बुधबार नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपालतर्फ पनि ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार नेपालमा ४८९ जनाको मृत्यु पुष्टि भइसकेको छ भने बेपत्ता नागरिकको खोज तथा उद्धार कार्य जारी छ।
.gif)

.png)

