चीनतर्फ फेरि फुट्यो ताल, सतर्क रहन अलर्ट सूचना
काठमाडौं : रसुवाको उत्तरी सीमामाथि चीनको तिब्बततर्फ बनेको ठूलो ताल फेरि फुटेको सूचना आएको छ। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको हो।
उनले चिनियाँ पक्षबाट केही समयअघि मात्रै ताल फुटेको म्यासेज आएको जानकारी दिएका छन्। उक्त ताल बनेको क्षेत्र रसुवागढीबाट करिब १८ किलोमिटर माथि रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले समेत चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको पुष्टि गरेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना प्राप्त भएको बताएका छन्।
यता, नेपाल प्रहरीले पनि तिब्बततर्फबाट पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको जनाएको छ। प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

यसअघि भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। सोही क्षेत्रमा फेरि चीनतर्फ ताल फुटेको सूचना आएपछि जोखिम थप बढेको छ। प्रहरीले तिब्बततर्फबाट पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै नदी तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।
यसअघि चिनियाँ जलस्रोत मन्त्रालयले भोटेकोसीको शिरमा खोला थुनिएर करिब २० लाख घनमिटर पानीको ताल बनेको जानकारी दिएको थियो। अहिले उक्त ताल फुटेको सूचना आएपछि नेपालतर्फ सम्भावित थप बाढीको जोखिमबारे निगरानी बढाइएको छ।
यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले अलर्ट सूचना जारी गर्दै भदौ १० गते बाढी आएकै क्षेत्रमा पुनः लेदोसहितको पानीको बहाब केही बढेकोले थप बाढी आउनसक्ने जोखिम रहेकोले भोटेकोशी र त्रिशुली नदीकिनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं जोखिममा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

.gif)

.png)

