केरुङ पहिरोमा ३ जनाको मृत्यु, ५५८ अझै बेपत्ता

४९९ स्थानीय र ५५५ पर्यटक सुरक्षित स्थानमा सारिए


२०८३ भदौ १२ शुक्रबार १२:४१ बजे
Photo: Xinhua/Jigme Dorje

काठमाडौं : चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत केरुङ (ग्यिरोङ) काउन्टीमा आएको विनाशकारी पहिरोपछि प्रभावित सबै स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरूले बताएका छन्। 

बुधबार बिहान केरुङ बन्दरगाह क्षेत्रमा आएको पहिरोबाट प्रभावित ४९९ जना स्थानीय बासिन्दा तथा निर्माण मजदुरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। त्यस्तै, घटनास्थलमा अलपत्र परेका ५५५ जना पर्यटकको पनि उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। चिनियाँ अधिकारीहरूका अनुसार अब केरुङ पहिरो प्रभावित क्षेत्रमा कुनै पनि पर्यटक अलपत्र अवस्थामा छैनन्। 

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सांस्कृतिक तथा पर्यटन अधिकारीहरूको समन्वयमा पर्यटकको उद्धार तथा स्थानान्तरण गरिएको हो। प्रभावित स्थानीय बासिन्दा तथा निर्माण क्षेत्रमा कार्यरत मजदुरलाई समेत सुरक्षित आवासको व्यवस्था गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन चीनको नागरिक उड्डयन निकायसमेत परिचालन गरिएको छ।

बिहीबार दिउँसो ३ बजेसम्म नागरिक उड्डयन सेवामार्फत ३२४ जना उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्‍याइएको सिन्ह्वाले जनाएको छ। यस्तै, उद्धार तथा राहतका लागि २४ टन उद्धार उपकरण, दैनिक उपभोग्य सामग्री तथा चिकित्सा सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ। यी सामग्री प्रभावित नागरिकको स्थानान्तरण तथा आपत्कालीन उद्धार कार्यमा प्रयोग भइरहेका छन्।

चिनियाँ अधिकारीहरूका अनुसार पछिल्लो विवरणमा पहिरोमा परी तीन जनाको मृत्यु भएको, ५५८ जना अझै बेपत्ता रहेको तथा दुई जना स्थानीय बासिन्दाको जीवितै उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार अभियान भने निरन्तर जारी रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उद्धार टोलीले जोखिमयुक्त क्षेत्रमा खोजी कार्यलाई प्राथमिकता दिँदै थप मानवीय क्षति हुन नदिन आवश्यक सावधानीसमेत अपनाइरहेको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७