रसुवाको ४० किमी सडक ध्वस्त, ४१ पुलमा क्षति

४१ पुलमा क्षति, बेलिब्रिज राखिँदै


२०८३ भदौ ११ बिहीबार १८:३१ बजे

काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको सडक सञ्जालमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। 

बाढीले वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अवरुद्ध छ। पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडक लेदोले पुरिएपछि यातायात सञ्चालनमा समस्या भएको छ। सरकारले सडकमा थुप्रिएको लेदो हटाएर पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखेको छ।

बाढीका कारण विभिन्न स्थानमा ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले आफूसँग रहेका ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज प्रयोग गर्ने तयारी गरेको छ। आवश्यकता र प्राविधिक सम्भावना अध्ययन गरी उपयुक्त स्थानमा बेलिब्रिज जडानको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। भारत र चीन सरकारले समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयको भनाइ छ।

सरकारको पहिलो प्राथमिकता पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउनु र रसुवालाई पुनः सडक सञ्जालसँग जोड्नु रहेको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म स्थलमार्गबाट पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ।

सडक खुलाउन २० उपकरण परिचालन

यसैबीच सरकारले अवरुद्ध सडक खुलाउने कामलाई तीव्रता दिन २० वटा उपकरण परिचालन गरिएको छ। तीमध्ये १० वटा सरकारले उपलब्ध गराएका हुन् भने थप १० वटा निजी क्षेत्रबाट परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सेवा पुनःसञ्चालनलाई प्राथमिकतामा राख्दै काम अघि बढाइएको छ। सडक सञ्जाल पुनःस्थापित नहुँदा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेकाले सरकारले तत्काल यातायात सम्पर्क स्थापित गर्ने गरी कामलाई तीव्रता दिएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७