रसुवा बाढीः टेलिकमको सेवा प्रभावित, ६० साइट अझै बन्द

१५२ मध्ये ९२ साइट सञ्चालनमा


२०८३ भदौ ११ बिहीबार १७:०६ बजे

काठमाडौं : भदौ १० गते आएको विनाशकारी बाढीपहिरोका कारण प्रभावित बनेको दूरसञ्चार सेवा अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन। रसुवा, धादिङ, नुवाकोट र चितवनमा प्रभावित नेपाल टेलिकमका १५२ साइटमध्ये ६० वटा अझै सञ्चालनमा आउन बाँकी छन्।

नेपाल टेलिकमका अनुसार प्रभावित साइटमध्ये हालसम्म ९२ वटा सञ्चालनमा ल्याइएको छ। बाँकी साइटमा समेत सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली, जेनेरेटर, इन्धन तथा आवश्यक उपकरण परिचालन गरिएको छ। चितवनमा प्रभावित ५ साइटमध्ये ३ वटा, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ तथा रसुवाका ३२ मध्ये १३ साइट अझै सञ्चालनमा आउन बाँकी छन्।

भौगोलिक रूपमा विकट र बाढीपहिरोका कारण सडक तथा स्थलमार्ग प्रभावित भएका क्षेत्रमा सेवा सुचारु गर्न टेलिकमले हेलिकोप्टरमार्फत आवश्यक उपकरण पुर्‍याइरहेको छ। रसुवाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा जेनेरेटर, ब्याट्रीलगायत उपकरण हेलिकोप्टरबाट पठाइएको टेलिकमले जनाएको छ।

उपकरण र प्राविधिक जनशक्ति परिचालनपछि न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिनलगायत क्षेत्रमा दूरसञ्चार सेवा सुचारु गरिएको छ। धुन्चेमा सेवा सञ्चालनका लागि समेत जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरिएको छ।

नुवाकोटका मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङका बैरेनी र ठमेल डाँडामा जेनेरेटर र इन्धनसहित प्राविधिक कर्मचारी परिचालन गरिएको छ। प्रभावित क्षेत्रका प्राथमिकताप्राप्त साइटलाई निरन्तर सञ्चालनमा ल्याउने उद्देश्यले वैकल्पिक विद्युत् व्यवस्थापन गरिएको टेलिकमले जनाएको छ। सञ्चालनमा रहेका अन्य बीटीएसको कभरेज तथा क्षमता बढाउने र नेटवर्क अप्टिमाइजेसनको कामसमेत भइरहेको छ।

बाढीपहिरोका कारण सडक, विद्युत् तथा अन्य पूर्वाधारमा क्षति पुग्दा दूरसञ्चार सेवा सञ्चालनमा समेत असर परेको थियो। यस्तो अवस्थामा उद्धार तथा राहतका लागि प्रभावित नागरिक, सुरक्षा निकाय र अन्य सरोकारवालाबीच सञ्चार सम्पर्क महत्वपूर्ण हुने भएकाले सेवा पुनःस्थापनालाई प्राथमिकतामा राखिएको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रमा नागरिकको सञ्चार आवश्यकता सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कामलाई उच्च प्राथमिकता दिइएको छ। टेलिकमले सञ्चालनमा आउन बाँकी रहेका ६० वटै साइटलाई सकेसम्म छिटो पुनःसञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७