भोटेकोशीमा अझै जोखिम कायमैः नेपाललाई थप सतर्क रहन चीनले गरायो सचेत
नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको जोखिम अझै नटरेको भन्दै चीनले नेपाललाई थप सतर्कता अपनाउन आग्रह गरेको छ। चिनियाँ पक्षले नेपाल परराष्ट्र मन्त्रालयमार्फत पठाएको पछिल्लो सूचनामा बाढी आएको क्षेत्रमा नदी थुनिएर ताल बनेको र त्यसमा पानीको मात्रा बढिरहेको उल्लेख छ। उक्त ताल फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चिनियाँ पक्षले भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा यस्तो जानकारी गराएको हो। प्राधिकरणका अनुसार भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर बनेको ताल विस्तार भइरहेको छ। ताल फुट्ने जोखिमसमेत देखिएको चिनियाँ सूचनामा उल्लेख छ।
यससँगै प्राधिकरणले अर्को सूचना जारी नभएसम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्ता तथा सम्बन्धित सबैलाई समेत विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
भोटेकोसी नदी आसपासको अवस्था संवेदनशील रहेकाले नदीको बहाव, पानीको सतह र थुनिएको तालको अवस्थालाई निरन्तर निगरानीमा राख्नुपर्ने अवस्था देखिएको छ। प्राधिकरणले नदी किनारमा अनावश्यक रूपमा नजान, जोखिमयुक्त स्थानबाट सुरक्षित क्षेत्रमा सर्न तथा आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।
.gif)

.png)

