अस्ट्रेलियाले नेपाललाई ५० लाख डलर मानवीय सहायता उपलब्ध गराउने
काठमाडौं : नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि अस्ट्रेलियाले नेपालका प्रभावित नागरिकका लागि ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ।
अस्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत विश्व खाद्य कार्यक्रमसहित स्थापित साझेदार संस्थामार्फत उक्त सहायता परिचालन गरिने जनाएको हो। सहयोगबाट बाढीपहिरो प्रभावितलाई खाद्यान्न, आकस्मिक आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवाजस्ता अत्यावश्यक सामग्री उपलब्ध गराइनेछ। घोषित सहयोगमध्ये २० लाख अस्ट्रेलियन डलर विश्व खाद्य कार्यक्रममार्फत प्रदान गरिनेछ। यसबाट प्रभावित क्षेत्रमा खाद्यान्न वितरण तथा आपत्कालीन प्रतिकार्यका लागि आवश्यक लजिस्टिक सहयोग गरिनेछ।
त्यस्तै, थप २० लाख डलर ‘अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिप’मार्फत अस्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई उपलब्ध गराइनेछ। उक्त रकमबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, चिकित्सकीय तथा मनोसामाजिक सहयोग प्रदान गरिनेछ। बाँकी १० लाख डलर ‘इमर्जेन्सी एक्सन एलायन्स’मार्फत स्थानीय नेतृत्वमा सञ्चालन हुने पुनःस्थापना र पुनर्निर्माणका काममा खर्च गरिने अस्ट्रेलियाको विदेश मन्त्रालयले जनाएको छ।
यसैबीच, बाढीपछि नेपालमा रहेका ३९ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको पनि अस्ट्रेलियाले जनाएको छ। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन नेपालस्थित अस्ट्रेलियन दूतावासका कर्मचारी, क्राइसिस रेस्पोन्स टिम (सिआरटी)का सदस्य र क्षेत्रीय कन्सुलर परिचालन गरिएको छ।
अस्ट्रेलियाले थप सिआरटी तथा क्षेत्रीय टोली परिचालनको तयारी गरेको छ। आगामी ४८ घण्टाभित्र मानवीय अवस्थाको मूल्यांकन, राहत सामग्री व्यवस्थापन, सञ्चार तथा योजना निर्माणमा विशेषज्ञता भएका तीन जना अधिकारीको टोली नेपाल पठाउने तयारी रहेको विज्ञप्तिमा उल्लेख छ।
.gif)

.png)

