चीनले भन्यो: खोज र उद्धारमा नेपालसँग समन्वयमा छौं, आवश्यक आपतकालिन सहायता दिन तयार छौं

चीनमा २६० विदेशी सम्पर्कविहीन, नेपालमा करिब १०० चिनियाँ नागरिक बेपत्ता


२०८३ भदौ ११ बिहीबार २०:३८ बजे

काठमाडौं :  चीनले नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यमा नेपालसँग निकट सम्पर्क र समन्वय भइरहेको जनाएको छ। नेपालको आवश्यकताअनुसार आपत्कालीन सहायता उपलब्ध गराउन चीन तयार रहेको पनि चिनियाँ विदेश मन्त्रालयले स्पष्ट पारेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपाल र चीन दुवैतर्फ ठूलो जनधनको क्षति तथा धेरै मानिस बेपत्ता भएको उल्लेख गर्दै विपद्बाट प्रभावित नेपाल सरकार तथा नागरिकप्रति चीनको हार्दिक समवेदना व्यक्त गरेका हुन्।

उनका अनुसार चीन र नेपालबीच खोज तथा उद्धारका विषयमा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ। नेपालको आवश्यकताअनुसार चीनले आपत्कालीन सहायता उपलब्ध गराउने तयारीसमेत गरेको छ। प्रवक्ता लिनले चीनको केरुङ काउन्टीस्थित केरुङ बन्दरगाह क्षेत्रमा अगस्ट २६ मा भएको पहिरोपछि चीन सरकारले उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए।

विपद्पछि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले तत्काल निर्देशन दिँदै खोज तथा उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन र मानवीय क्षति न्यूनीकरण गर्न निर्देशन दिएको उनले बताए।

सीले थप विपद् हुन नदिन निगरानी तथा पूर्वसूचना प्रणालीलाई सुदृढ गर्न र उद्धार कार्य व्यवस्थित रूपमा सञ्चालन गर्नसमेत निर्देशन दिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि बेपत्ता तथा प्रभावित नागरिकको संख्या तत्काल यकिन गरी खोज तथा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। जोखिममा रहेका नागरिकलाई छिटो र व्यवस्थित रूपमा सुरक्षित स्थानमा सार्नसमेत उनले निर्देशन दिएको लिनले बताए।

उपप्रधानमन्त्री चाङ कुओछिङ सम्बन्धित विभागका अधिकारीसहित घटनास्थल पुगेर उद्धार तथा विपद् प्रतिकार्यको प्रत्यक्ष अनुगमन गरिरहेको चीनले जनाएको छ। चीनका सम्बन्धित निकायले विपद् राहतका लागि राष्ट्रियस्तरको दोस्रो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय गरेका छन्। तिब्बत स्वायत्त क्षेत्रले प्राकृतिक विपद्का लागि पहिलो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ।

सेना, सशस्त्र प्रहरी, सीमा निरीक्षण, अग्नि नियन्त्रण तथा अन्य सम्बन्धित निकायका उद्धार टोली प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार कार्यमा परिचालित भएका छन्।

चीनमा २६० विदेशी नागरिक सम्पर्कविहीन

चिनियाँ अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार प्रभावित क्षेत्रमा २६० जना विदेशी नागरिक अझै सम्पर्कविहीन छन्। घटनास्थलको कठिन अवस्थाका कारण उनीहरूको थप विवरण यकिन गर्ने काम भइरहेको चीनले जनाएको छ।

लिनले चिनियाँ उद्धारकर्मीका लागि नागरिकको राष्ट्रियता महत्त्वपूर्ण नभई हरेक मानव जीवन अमूल्य रहेको बताए। चीनमा रहेका सम्बन्धित विदेशी दूतावाससँग सम्पर्क गरी प्रभावित नागरिकको अवस्थाबारे जानकारी गराउने तथा समन्वय गर्ने काम भइरहेको उनले जानकारी दिए।

नेपालमा करिब १०० चिनियाँ नागरिक बेपत्ता

चीनले नेपालतर्फ करिब १०० जना चिनियाँ नागरिक अझै बेपत्ता रहेको जानकारीसमेत दिएको छ। नेपालस्थित चिनियाँ दूतावासले नेपाली पक्षसँग समन्वय गर्दै उनीहरूको अवस्थाबारे थप विवरण यकिन गरिरहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। दूतावासले नेपालमा रहेका चिनियाँ नागरिकलाई सुरक्षा सतर्कता अपनाउन र सम्भावित थप पहिरो, बाढी तथा अन्य जोखिमबाट बच्न सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

नेपालस्थित चिनियाँ दूतावास आवश्यकतामा रहेका चिनियाँ नागरिकलाई सहयोग गर्न २४सै घण्टा उपलब्ध रहेको पनि प्रवक्ता लिनले बताएका छन्। चीनले नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा आवश्यकताअनुसार सहयोग उपलब्ध गराउन आफू तयार रहेको स्पष्ट पार्दै दुई देशबीचको सम्पर्क र समन्वयलाई निरन्तरता दिने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७