रसुवा बाढीमा चीनको साथ : राजदूत झाङले भने– आवश्यक सहयोग गर्न तयार छौँ
काठमाडौं : रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गहिरो दुःख व्यक्त गरेका छन्। राजदूत झाङले सामाजिक सञ्जालमार्फत विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित नागरिकप्रति समवेदना व्यक्त गरेका हुन्।
उनले विपत्तिको यस कठिन घडीमा नेपाल सरकार, नेपाली जनता र प्रभावित समुदायप्रति चीनको सहानुभूति रहेको बताएका छन्। ग्यिरोङ–रसुवागढी सीमाक्षेत्रमा आएको प्राकृतिक विपत्तिबाट नेपाल र चीन दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गर्दै राजदूत झाङले चीनतर्फ पनि क्षति भए पनि नेपाललाई तत्काल सहयोग उपलब्ध गराउन आपत्कालीन समन्वय गरिएको जानकारी दिएका छन्।
उनका अनुसार चीनले नेपालका लागि आपत्कालीन राहत सामग्री र नगद सहायता उपलब्ध गराइसकेको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। “चीन कठिन समयमा नेपालसँग दृढतापूर्वक उभिएको छ,” राजदूत झाङले भनेका छन्।
नेपाल र चीनले सहकार्य गरेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै उनले आपसी सहयोगबाट अहिलेको कठिन परिस्थिति पार गर्न सकिने विश्वाससमेत व्यक्त गरेका छन्। भोटेकोशी तथा आसपासका नदीमा आएको भीषण बाढीले रसुवागढी–केरुङ नाका क्षेत्रसमेत प्रभावित भएको छ। नेपालतर्फ खोज तथा उद्धार, राहत र पुनःस्थापनाका काम तीव्र पारिएका छन् भने चीनतर्फ पनि क्षतिको व्यवस्थापन तथा आपत्कालीन उद्धार भइरहेको छ।
.gif)

.png)

