कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्चले दिएन अन्तरिम आदेश


२०८३ भदौ ११ बिहीबार १८:४५ बजे

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चले बिहीबार महाधिवेशन रोक्न माग गरिएको अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले देउवा–खड्का पक्षको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्काले दिएको पूरक निवेदनमा महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको थियो। तर तीन सदस्यीय पूर्ण इजलासले उक्त मागबमोजिम आदेश जारी नगरेको उनले बताए।

अन्तरिम आदेश जारी नभएसँगै कांग्रेसको नियमित दलीय गतिविधि अघि बढाउन बाटो खुलेको छ। सर्वोच्चले पुनरवलोकनको निवेदनको अन्तिम टुंगो लाग्दासम्म महाधिवेशन रोक्ने गरी तत्काल कुनै आदेश आवश्यक नरहेको संकेत गरेको छ।

देउवा–खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै आएको छ। सोही विवादका बीच कांग्रेसको महाधिवेशनसम्बन्धी विषय अदालतसम्म पुगेको हो। गगन थापा नेतृत्वको कांग्रेसले भने आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी संगठनात्मक तथा राजनीतिक गतिविधि अघि बढाइसकेको छ।

सर्वोच्चले तत्काल महाधिवेशन रोक्ने अन्तरिम आदेश नदिएपछि थापा नेतृत्वले तय गरेको कार्यतालिकाअनुसार महाधिवेशन तयारी अघि बढ्ने अवस्था बनेको छ। यद्यपि, देउवा–खड्का पक्षको पुनरवलोकनसम्बन्धी निवेदनमा सर्वोच्चबाट हुने आगामी निर्णयले कांग्रेसभित्रको विवादको अन्तिम दिशा निर्धारण गर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७