रवि लामिछाने भदौ ७ मा चीन भ्रमणमा जाँदै

सी चिनफिङसँग भेट नहुने


२०८३ श्रावण २७ बुधबार ११:३२ बजे

काठमाडौं :  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी भदौ ७ गते चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा लामिछाने आठदिने भ्रमणका लागि चीन जान लागेका हुन्।

लामिछाने भदौ ७ गते चीन प्रस्थान गरी १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनीनिकट एक नेताले बताएका छन्। अंग्रेजी मितिअनुसार उनको भ्रमण अगस्ट २३ देखि ३० सम्म हुनेछ।

रास्वपा सरकारमा सहभागी भएपछि लामिछानेको यो पहिलो चीन भ्रमण हो। यसअघि उनले भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारतको पाँचदिने भ्रमण गरेका थिए।

चीन भ्रमणका क्रममा लामिछानेले उच्च तहका चिनियाँ अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने तयारी छ। बेइजिङमा चिनियाँ उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेटवार्ताको कार्यक्रम तय हुने क्रममा रहेको स्रोतले जनाएको छ।

सी चिनफिङसँग भेट नहुने

लामिछानेले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने अपेक्षा गरिए पनि अहिलेसम्मको भ्रमण तालिकामा यस्तो भेट समावेश छैन। चिनियाँ प्रोटोकलअनुसार राष्ट्रपति सीले मुख्यतः राष्ट्राध्यक्ष वा सरकार प्रमुखसँग भेटवार्ता गर्ने भएकाले लामिछानेसँग भेट हुने सम्भावना नरहेको भ्रमणबारे जानकार एक अधिकारीले बताएका छन्।

लामिछानेको पहिलो राजनीतिक भेट भने चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग हुने बताइएको छ। उनकै निमन्त्रणामा लामिछाने चीन भ्रमणमा जान लागेको स्रोतको भनाइ छ।

भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्ध, दुई देशका राजनीतिक दलबीचको सहकार्य तथा आपसी हित र चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

पाँच सदस्यीय टोलीमा निकिता पनि

लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानेछन्। टोलीमा उनकी पत्नी निकिता पौड्यालसमेत सहभागी हुने बताइएको छ।बेइजिङमा हुने राजनीतिक भेटवार्तापछि लामिछानेसहितको टोली तिब्बत जाने कार्यक्रम छ। त्यहाँबाट टोलीले कैलाश मानसरोवरको भ्रमण गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

लामिछानेको चीन भ्रमणलाई रास्वपाको पार्टीगत तथा राजनीतिक सम्बन्ध विस्तारसँग जोडेर हेरिएको छ। सरकारमा सहभागी भएपछि रास्वपा नेतृत्वले भारत र चीन दुवै छिमेकी मुलुकका राजनीतिक नेतृत्वसँग सम्पर्क बढाउँदै आएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७