राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ: प्रधानमन्त्री
राहत र उद्धार अभियानमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सरकारले सञ्चालन गरिरहेको अभियानमा सहयोग गर्न सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई अपिल गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै प्रधानमन्त्री शाहले प्राकृतिक विपत्तिबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा सबै एकजुट हुनुपर्ने बताएका हुन्।
उनले बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै घटनाले सिंगो देशलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्।
‘आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ,’ उनले भनेका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको दुःखद खबर प्राप्त भएको छ। उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफन्त तथा परिवार गुमाएका शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, बाढीमा परी घाइते भएका तथा अस्पतालमा उपचाररत नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
हजारौं सुरक्षाकर्मी उद्धारमा परिचालन
प्रधानमन्त्री शाहले विपद्को खबर प्राप्त हुनासाथ सरकारले आफ्ना सम्पूर्ण शक्ति र संयन्त्र उद्धार कार्यमा परिचालन गरेको बताएका छन्। उनका अनुसार बाढी आएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको थियो। त्यसपछि राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठकसमेत बसेर उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउने विषयमा महत्वपूर्ण निर्णय गरिएको थियो।
बाढी प्रभावित क्षेत्रमा नागरिकको ज्यान जोगाउन तथा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको उनले बताएका छन्।
प्रधानमन्त्रीका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले अहिलेको अवस्था अत्यन्त संवेदनशील रहेको भन्दै घाइतेको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र प्रभावित नागरिकलाई सुरक्षित राख्ने कार्यलाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताएका छन्।
घाइते नागरिकको सहज तथा निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको उनले जानकारी दिएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई पनि आवश्यकताअनुसार जुनसुकै बेला घाइतेको उपचार गर्न तयारी अवस्थामा राखिएको उनले बताएका छन्।
प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरी घाइतेको उद्धार तथा प्राथमिक उपचार भइरहेको भन्दै उनले राष्ट्रिय ट्रमा सेन्टर तथा विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली तत्काल प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिएका छन्।
त्यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत संस्थाबाट चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको उनले बताएका छन्।
औषधि र रगतको अभाव हुन नदिने
प्रधानमन्त्री शाहले आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन सम्बन्धित निकाय तथा संघसंस्थासँग निरन्तर समन्वय भइरहेको बताएका छन्। यसका लागि रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटलगायत संस्थासँग समन्वय भइरहेको उनले उल्लेख गरेका छन्।
बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरी स्थानीय तहमा आवश्यक सहयोग पहिचान गर्दै सोहीअनुसार सहजीकरण भइरहेको र घाइतेहरूको थप विवरण संकलन गर्ने काम जारी रहेको प्रधानमन्त्रीले बताएका छन्।
प्रधानमन्त्री शाहले बाढीमा हराइरहेका नागरिकको खोजीलाई अझ तीव्र बनाइने बताएका छन्। उनका अनुसार घाइतेहरूको पूर्ण विवरण तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। साथै, रातभर पनि उद्धार कार्य जारी रहने उनले बताएका छन्।
नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित क्षेत्र रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
यी क्षेत्रमा प्रभावित परिवारसम्म खानेकुरा, सफा खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्याइने उनले बताएका छन्। प्रधानमन्त्री शाहले बाढीका कारण भत्किएका सडक, पुल, विद्युत् तथा खानेपानीका आयोजनालाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काइने बताएका छन्।
बाढीका कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनको भनाइ छ। प्रभावित नागरिकलाई सम्बोधन गर्दै उनले विपद्को यस कठिन घडीमा उनीहरू एक्लो नरहेको बताएका छन्। ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,’ प्रधानमन्त्री शाहले भनेका छन्। उनले प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै उद्धार, उपचार, खानपिन तथा बसोबासको जिम्मेवारी सरकारले लिने विश्वास दिलाएका छन्।
राहत अभियानमा सहयोग गर्न आग्रह
प्रधानमन्त्री शाहले यस्तो विपद्को समयमा सबै एकजुट भएर पीडितको सहयोगमा जुट्नुपर्ने बताएका छन्। उनले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्।
‘यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ,’ उनले भनेका छन्, ‘म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।’
उनले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई पुनः सामान्य जीवनमा फर्काउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। ‘हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ,’ प्रधानमन्त्री शाहले अपिलमा भनेका छन्।
प्रधानमन्त्रीको स्टाटस :
आदरणीय आमाबाबु, दिदीबहिनी तथा दाजुभाइहरू,
आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ। प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ।
बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ। म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु। तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ। बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु।
यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौंको संख्यामा उद्धार कार्यमा परिचालन गरेको छ।
बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो। त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्वपूर्ण निर्णयहरू गरियो।
बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ।
हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५०+ नागरिकको उद्धार गरिसकेका छन्। उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ।
अहिलेको यो समय निकै संवेदनशील छ। घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो।
घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ। उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ। सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ। काठमाडौंको राष्ट्रिय ट्र्मा सेन्टर, विभिन्न सुरक्षा निकायहरुबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली तत्कालै पठाइएको छ। यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ।
आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता संघसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ।
बाढीग्रस्त क्षेत्रका संघीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौं। घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ।
यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ। बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ। घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। आज रात भर पनि उद्धार कार्य जारी नै रहने छ ।
नुवाकोटको विदुर; रसुवाको उत्तरगया र गोसाइँकुण्ड; धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ ।
बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ। विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ
बाढी प्रभावित क्षेत्रका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ। कृपया धैर्य धारण गर्नुहोला। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।
यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।
हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ।
धन्यवाद।
.gif)

.png)

