बालेन–रविबीच खटपटको चर्चा चलिरहेका बेला रविले भने– ‘हामी अझ नजिकिएका छौं’
मन्त्रीको काममा प्रश्न उठ्दैमा फेरबदल हुँदैन : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा पार्टी संसदीय दलका नेता बालेन्द्र शाहसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चाको खण्डन गरेका छन्। लामिछानेले बुधबार सिंहदरबारमा पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गरेका थिए। बैठकमा प्रधानमन्त्री शाह भने उपस्थित भएनन्। त्यसपछि उक्त बैठकलाई लिएर रास्वपाभित्र असन्तुष्टि बढेको र लामिछाने तथा शाहबीच सम्बन्ध चिसिएको चर्चा सुरु भएको थियो।
सभापति लामिछानेले आफूले बोलाएको बैठक संसदीय दलको औपचारिक बैठक नभएको स्पष्ट पारेका छन्। उनका अनुसार सांसद र मन्त्रीहरूबीच समसामयिक विषय तथा पार्टी र सरकारका कामकारबाहीबारे छलफल गर्न बैठक बोलाइएको हो। उनले भने, ‘संसदीय दलको बैठक भए त प्रधानमन्त्रीज्यू भइहाल्नु हुन्थ्यो। तर आज चाहिँ छलफल मात्र बोलाइएको हो।’ प्रधानमन्त्री शाहसँग सम्बन्ध बिग्रिएको भन्ने चर्चाबारे लामिछानेले व्यंग्यात्मक शैलीमा त्यसको खण्डन गरे। ‘दुईजनाबीच झगडा पर्यो भनेर लेख्नुहुन्छ, हामीलाई रमाइलो लाग्छ। तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ। त्यसैले समाचार लेख्न नरोक्नुहोला,’ उनले भने।
यसैबीच, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा आफू ‘एक्लै लडिरहेको’ आशयको स्टाटस लेखेको विषयमा पनि लामिछानेलाई प्रश्न गरिएको थियो। त्यसको जवाफमा उनले शाहको उक्त अभिव्यक्तिलाई राजनीतिकभन्दा बढी उनको व्यक्तिगत तथा सिर्जनात्मक अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताए। ‘प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो। यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन,’ उनले भने।
रास्वपा एकताबद्ध रहेको दाबी गर्दै लामिछानेले प्रधानमन्त्री शाह पार्टीबाट एक्लिएको अवस्था नरहेको बताए। ‘यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’ उनले प्रश्न गरे। लामिछानेको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर उत्पन्न भएको राजनीतिक चर्चालाई सामान्य छलफलको विषयका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।
.gif)

.png)

