नेपालमा विपत्ति आइपर्दा त्यसको पीडा र दुःख हामी पनि उत्तिकै महसुस गर्दैछौं : मुख्यमन्त्री पीएस गोले
काठमाडौं : नेपालमा अविरल तथा भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको ठूलो जनधनको क्षतिप्रति भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले दुःख व्यक्त गरेका छन्।
गोलेले नेपालमा आएको विपत्तिको खबरले आफूहरूलाई मर्माहत र निःशब्द बनाएको बताएका छन्। विशेषगरी नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति उनले सिक्किमेली जनताको तर्फबाट श्रद्धाञ्जली अर्पण गरेका छन्।
बाढीका कारण आफन्त गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै गोलेले प्रभावित, विस्थापित तथा घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। भनेका छन्, ‘यस कठिन अनि दुःखद् घडीमा प्रभावित जनताको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मीहरू एवं स्थानीय समुदायले गरिरहनुभएको निरन्तर, अथक अनि साहसिक प्रयासप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। विपत्तिमा परेका सबैको शीघ्र उद्धार, सुरक्षित पुनर्स्थापना र जनजीवनको यथाशीघ्र सामान्यीकरणको निम्ति कामना सहित प्रार्थना गर्दछौं।’
उनले विपद्को यस कठिन घडीमा प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी र स्थानीय समुदायले गरिरहेका निरन्तर प्रयासप्रति सम्मान व्यक्त गरेका छन्। साथै, विपत्तिमा परेकाहरूको शीघ्र उद्धार, सुरक्षित पुनर्स्थापना तथा जनजीवनलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन प्रार्थना गरेका छन्।
गोलेले नेपाल र सिक्किमबीचको सम्बन्धलाई सांस्कृतिक तथा भावनात्मक रूपमा गहिरो रहेको उल्लेख गरेका छन्। ‘नेपाल हाम्रो छिमेकी राष्ट्र मात्र नभई सांस्कृतिक तथा भावनात्मक सम्बन्धले गहिरोसँग जोडिएको आत्मीय राष्ट्र हो। त्यसैले नेपालमा कुनै पनि विपत्ति आइपर्दा त्यसको पीडा र दुःख हामी यस भेकका जनताले पनि उत्तिकै महसुस गर्दैछौं,’ उनले भनेका छन्।
उनले प्राकृतिक विपत्तिको सामना गर्ने शक्ति, साहस र धैर्य प्रभावित परिवारमा प्राप्त होस् भन्दै ईश्वरसँग प्रार्थना गरेका छन्। साथै, उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुःखद् घडीमा सिक्किमेली जनता नेपाली नागरिकको साथमा रहेको बताएका छन्।
.gif)

.png)

