तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : रसुवामा आएको भीषण बाढीपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका संयन्त्र परिचालन भइसकेको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई प्रभावित क्षेत्रमा उद्धारका लागि परिचालन गरिएको बताएका हुन्। अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट र नेपाल रेडक्रससँग समन्वय भइरहेको उनको भनाइ छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने तयारीसमेत भइरहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। सर्वसाधारणलाई एसएमएस तथा फोन कलमार्फत समेत सतर्क गराउने काम भइरहेको छ। सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको र निजी हेलिकप्टर कम्पनीलाई पनि तयारी अवस्थामा रहन भनिएको उनले बताएका छन्।
उनका अनुसार आगामी आवश्यक निर्णयका लागि केहीबेरमै उच्चस्तरीय बैठक बस्दैछ। उनले सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित निकायबाट आउने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न आग्रह गरेका छन्। राहत तथा थप जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
.gif)

.png)

