तिब्बतबाट आएको भीषण बाढीले रसुवामा वितण्डा, स्याफ्रुबेँसी र टिमुरेमा ठूलो क्षति
रसुवा : भीषण वर्षासँगै आएको बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति भएको जानकारी प्राप्त भएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार भोटेकोशी नदीमा आएको बाढीले टिमुरे भन्सार कार्यालयसहित आसपासका क्षेत्रमा क्षति पुर्याएको हो।
बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा थप जोखिम बढेको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको अधिकारीले जानकारी दिएका छन्।सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा गम्भीर क्षति पुगेको जानकारी दिँदै उद्धार तथा राहतका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका छन्।
उनका अनुसार सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइएको छ।
मन्त्री तिमिल्सिनाले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरेका छन्।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनी पालना गर्न आग्रह गर्दै उनले विपद्को अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेका छन्।
यसैबीच, अर्थमन्त्रीको सचिवालयले रसुवाको टिमुरे र स्याफ्रुबेँसी आसपास भीषण वर्षाका कारण केही घण्टाअघि ठूलो बाढी आएको जनाएको छ। सचिवालयका अनुसार भन्सार कार्यालय तथा मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल तथा अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वले खोज तथा उद्धारलगायतका काममा आवश्यक समन्वय गरिरहेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।
.gif)

.png)

