प्रधानमन्त्री शाह आज संसद् बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै


२०८३ भदौ १० बुधबार ०७:१८ बजे

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूले दर्ता गराएका प्रश्नको जवाफ दिने भएका छन्। प्रतिनिधि सभा नियमावली, २०८३ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची संसद् सचिवालयले तय गरेको हो। 

संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले दर्ता गराएका प्रश्नको जवाफ दिनेछन्। सभामुख डोलप्रसाद अर्यालले यसअघि नै प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि उपस्थित हुन रुलिङ गरिसकेका थिए। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।

नियमअनुसार १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आफ्नो कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्। संसद् सचिवालयका अनुसार रास्वपाका सांसदले सातवटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले गरी तीनवटा प्रश्न मात्रै दर्ता गराएका छन्। अन्य दलका सांसदले भने उपलब्ध कोटाअनुसार प्रश्न दर्ता गराएका छन्।

नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपा (एमाले)बाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्। यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराएका छन्। श्रम संस्कृति पार्टीका हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्न गर्ने तयारी गरेका छन्।

आजकै बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि सदनमा प्रस्तुत गर्नेछन्। यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए। सोहीअनुसार आज प्रधानमन्त्री र सांसदबीच प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७