बाढीपछिको पुनर्स्थापनामा अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख डलर दिने
काठमाडौं : भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त संरचना पुनर्स्थापना गर्न अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा भएको भेटवार्ताका क्रममा अमेरिकाले थप सहयोगको योजना सार्वजनिक गरेको हो।
भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै भोटेकोशी बाढीपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।
अमेरिकी दूतावासका अनुसार नयाँ सहयोगमध्ये १ करोड डलर पक्की पुल निर्माणमा खर्च गरिनेछ। अमेरिकी कम्पनीबाट निर्माण सामग्री खरिद गरी प्रभावित क्षेत्रमा पुल निर्माण गरिने योजना छ। यसबाट बाढीले क्षति पुर्याएको यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, संरक्षण, जीविकोपार्जन र जाडोयामका आवश्यकतामा ८० लाख डलर उपलब्ध गराउने योजना अमेरिकाले बनाएको छ।
बाढी तथा अन्य विपद्पछिको खोज, उद्धार र पुनर्स्थापना क्षमता बढाउन अमेरिकी प्रविधिबाट निर्मित ड्रोन खरिदमा १ करोड ३० लाख डलर खर्च गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
नयाँ सहयोगसमेत जोड्दा नेपालमा बाढीपछिको उद्धार तथा पुनर्स्थापनाका लागि अमेरिकाले उपलब्ध गराउने कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ।
अमेरिकाले नेपालमा पुनर्स्थापनाका लागि आवश्यक थप क्षेत्र पहिचान गरी आगामी दिनमा पनि नेपाल सरकारसँग सहकार्य गर्ने जनाएको छ।


.gif)

.png)
