प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै
बिहीबार राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्री बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन्।
महासभाको General Debate मा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (असोज ८ गते) सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा हुँदैछ। प्रधानमन्त्रीको सम्बोधनमा नेपालले पछिल्लो समय भोगेको प्राकृतिक विपत्ति, जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम तथा हिमाली मुलुकले सामना गरिरहेका चुनौतीका विषय प्राथमिकतामा रहने तयारी छ।
विशेषगरी भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै जलवायुजन्य विपत्तिका असरबारे नेपालको धारणा राख्ने तयारी गरिएको छ।
नेपालले जलवायु परिवर्तनबाट प्रभावित मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग र जलवायु न्यायको विषयसमेत उठाउने तयारी गरेको छ। महासभाको यस वर्षको मुख्य विषय ‘Restoring trust, managing transformation: A United Nations that delivers for all’ रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत वरिष्ठ सरकारी अधिकारी सहभागी हुनेछन्। प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यतालिका रहेको छ।
.gif)

.png)
