भारतीय स्याउलाई चुनौती दिँदै कर्णालीको स्याउ


२०८३ भदौ १० बुधबार ०८:२२ बजे
फाइल फोटो

काठमाडौं : कुनै समय भारतीय स्याउमा निर्भर नेपालगञ्जको बजारमा अहिले कर्णालीको स्याउले आफ्नो पकड बलियो बनाउँदै गएको छ। जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन भएको स्याउ स्वाद र मूल्यका कारण उपभोक्ताको रोजाइमा पर्न थालेपछि भारतीय स्याउको बजारसमेत प्रभावित भएको व्यवसायीहरू बताउँछन्।

नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुका अनुसार अहिले बाँकेको नेपालगञ्ज र कोहलपुरदेखि दाङका तुलसीपुर, घोराही र लमहीसम्म कर्णालीको स्याउ सहजै उपलब्ध हुन थालेको छ। मुख्य फलफूल बजारदेखि सडकछेउका ठेलासम्म कर्णालीकै स्याउ देखिन थालेको उनले बताए। उनका अनुसार भारतीय स्याउ प्रतिकिलो करिब २५० रुपैयाँमा बिक्री भइरहँदा कर्णालीको ताजा स्याउ १५० रुपैयाँ प्रतिकिलोमै उपलब्ध छ। मूल्यमा सस्तो हुनुका साथै हिमाली हावापानीमा उत्पादन भएको स्याउ स्वादिलो भएकाले उपभोक्ताको आकर्षण बढेको उनको भनाइ छ।

कर्णालीको स्याउले तराईको बजार पाउन थालेको पछाडि कर्णाली राजमार्गको सञ्चालनलाई महत्वपूर्ण कारण मानिएको छ। राजमार्ग सञ्चालनमा आउनुअघि हिमाली जिल्लाबाट तराईसम्म स्याउ पुर्‍याउन निकै कठिन थियो। व्यवसायी साहुका अनुसार विगतमा स्याउ नेपालगञ्ज पुर्‍याउन हवाईजहाजको समेत प्रयोग गर्नुपर्थ्यो। हवाई ढुवानीका क्रममा स्याउ थिचिने र बिग्रिने समस्या हुने गरेको थियो। अहिले भने सडकमार्गबाटै जुम्लाबाट ग्रेडिङ र प्याकिङ गरेर स्याउ तराईका बजारसम्म पुर्‍याउन सम्भव भएको छ।

हाल बजारमा कर्णालीमा उत्पादन हुने रेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ बिक्री भइरहेका छन्। नेपालगञ्जको धम्बोझी, कारकाँदो र पुष्पलालचोकलगायत क्षेत्रमा कर्णालीका महिलाले समेत फुटकर रूपमा स्याउ बिक्री गरिरहेका छन्। जुम्लाको गुठीचौर गाउँपालिका–४ का स्याउ व्यापारी रामप्रसाद न्यौपानेका अनुसार यस वर्ष रुखमै पाक्न दिएर टिपिएका कारण स्याउको स्वाद अझ राम्रो भएको छ। उनले चन्दननाथ नगरपालिका–१० गैरागाउँबाट खरिद गरेको ४४३ कार्टुन स्याउ नेपालगञ्जको बजारमा बिक्री गरिसकेका छन्।

व्यवसायीहरूका अनुसार उत्पादनसँगै टिपाइ, ग्रेडिङ र प्याकिङमा सुधार गर्न सके कर्णालीको स्याउले देशभरको बजार लिन सक्छ। अहिले भारतीय स्याउको विकल्पका रूपमा नेपाली उत्पादनले बजारमा स्थान बनाउँदै जानुले कर्णालीका किसानका लागि नयाँ सम्भावना सिर्जना गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७