बालिका हत्या प्रकरणमा सरकारलाई प्रश्न : सालिक ठड्याएर बालिकाको जीवन फर्किन्छ ?
काठमाडौं : बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर प्रतिनिधिसभामा सांसदहरूले सरकारको आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गर्दै पीडित परिवारसँग सहमति गरेर मात्रै सरकारको दायित्व पूरा नहुने बताएका हुन्।
बैठकमा नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सरकारले बालिकाको परिवारसँग गरेको सहमतिप्रति आपत्ति जनाइन्। बालिकाको जीवन सालिक निर्माण गरेर फिर्ता ल्याउन नसकिने भन्दै उनले राहत र सहमतिभन्दा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइन्। ‘म सरकारलाई सोध्न चाहन्छु, एउटा सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’ उनले प्रश्न गरिन्।
सहमति गरेर तत्काल आन्दोलन रोक्न सकिने र राहतबाट पीडित परिवारको क्षणिक पीडा कम हुन सक्ने भए पनि त्यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न नसक्ने उनको भनाइ थियो। उनले जघन्य अपराधका घटनामा मिलापत्र गराउने तथा अपराध ढाकछोप गर्न भूमिका खेल्ने व्यक्तिमाथि समेत हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरिन्।
‘सहमतिको बुँदाले होइन, कानुनको कार्यान्वयनले राज्यको विश्वसनीयता बढ्छ,’ उनले भनिन्, ‘त्यसकारण जघन्य अपराधका घटनालाई मिलापत्र गराउने मतियारलाई हदैसम्मको कारबाही होस्।’ सडकमा आन्दोलन चर्किएपछि मात्रै मन्त्री र स्थानीय प्रशासन सक्रिय हुने प्रवृत्तिले स्थानीय सरकार तथा प्रशासनप्रतिको जनविश्वास कमजोर भइरहेको भन्दै उनले सरकारको कार्यशैलीमाथि समेत प्रश्न उठाइन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले सबै नागरिकले मुलुकमा सम्मानजनक र सुरक्षित रूपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताइन्। उनले अपराधको प्रकृति र गम्भीरताका आधारमा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिइन्। संविधानका अक्षर मात्र हेरेर अपराधको गम्भीरता नाप्न नहुने उनको भनाइ थियो। ‘पकेटमार र बलात्कारीलाई एउटै कोठामा राखेर सजाय दिन मिल्दैन,’ सांसद क्षेत्रीले भनिन्। उनले बलात्कार तथा जघन्य महिला हिंसाका घटनामा दोषीलाई कडा कानुनी कारबाही हुने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरिन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले बालिकाको बलात्कारपछि हत्या भएको घटनाले सिंगो राज्यलाई लज्जित बनाएको बताइन्। घटनाले सरकारलाई समेत गम्भीर प्रश्नको घेरामा उभ्याएको उनको भनाइ थियो। छोरीहरू आफ्नै घर–आँगनमा समेत असुरक्षित हुनुपर्ने र पीडित परिवारले न्यायका लागि सडकमा आन्दोलन गर्नुपर्ने अवस्था दुःखद भएको उनले बताइन्।
सांसद शर्माले घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरी बालिकालाई न्याय दिलाउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन्।
.gif)

.png)

