एसआरएमको नयाँ लक्ष्य : नेपाली सडकमा १० हजार विद्युतीय सवारी पुर्‍याउने

नेपालमा एसआरएमको १,१११ वटा ईभी बिक्री


२०८३ भदौ ७ आइतबार १६:०९ बजे

काठमाडौं : चिनियाँ विद्युतीय सवारी ब्रान्ड एसआरएमले नेपाली बजारमा १ हजार १११ थान विद्युतीय सवारी बिक्री गरेको छ। यो उपलब्धिसँगै नेपालमा आफ्नो बजार विस्तारलाई थप तीव्र बनाउने योजना कम्पनीले अघि सारेको छ। एसआरएमको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले १ हजार १११ थान ईभी बिक्रीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आगामी दिनमा नेपाली सडकमा १० हजार एसआरएम विद्युतीय सवारी पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको हो।

भिजी मोटर्सले अगस्ट २०२३ देखि नेपालमा एसआरएम ब्रान्डका विद्युतीय सवारी बिक्री सुरु गरेको थियो। बजारबाट प्राप्त सकारात्मक प्रतिक्रियाले कम्पनीलाई बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार र ग्राहक सेवाको सञ्जाल विस्तारमा थप लगानी गर्न प्रेरित गरेको जनाएको छ। कम्पनीले १ हजार १११ थान सवारी बिक्रीको उपलब्धिलाई ‘१,१११ यात्रा, १,१११ जीविका र १,१११ कथा’का रूपमा व्याख्या गरेको छ। एसआरएमका विद्युतीय सवारी यात्रु ओसारपसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी र विभिन्न साना व्यवसायमा प्रयोग हुँदै आएका छन्।

नेपालको सडक अवस्थालाई ध्यानमा राखेर एसआरएमका सवारीमा ग्राउन्ड क्लियरेन्स, मोटरको शक्ति र टर्कमा सुधार गरिएको कम्पनीको दाबी छ। कम्पनीले सीएटीएलका ब्याट्री प्रयोग गर्दै आएको जनाएको छ। सर्तसहित ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने कम्पनीले जनाएको छ। बिक्रीसँगै सेवा सञ्जाल विस्तारलाई पनि प्राथमिकतामा राखिएको भिजी मोटर्सले जनाएको छ। कम्पनीका अनुसार नेपालभर एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन्। त्यस्तै, विद्युतीय सवारीको बढ्दो प्रयोगलाई लक्षित गर्दै १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेका छन्।

कम्पनीले ४० जिल्लाका १ हजार ५०० भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधि र सडक सुरक्षासम्बन्धी तालिमसमेत दिएको जनाएको छ। बजार विस्तारको योजनाअन्तर्गत एसआरएमले नेपालमा थप दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी ल्याउने तयारीसमेत गरेको छ। यसले व्यावसायिक तथा संस्थागत क्षेत्रमा विद्युतीय सवारीको प्रयोग बढाउने कम्पनीको अपेक्षा छ।

१ हजार १११औं एसआरएम सवारी खरिदकर्ताका रूपमा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई सम्मान गरिएको थियो। त्यस्तै, सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्थाका रूपमा युरो स्कुल, छाउनीलाई सम्मान गरिएको थियो। डिस्कभरी एजुकेसन नेटवर्क काठमाडौं प्रालिलाई ‘एसआरएम पायोनियर अवार्ड’ प्रदान गरिएको थियो।

उपलब्धिको अवसरमा आयोजित कार्यक्रममा एसआरएमको एसियाली बजारका महाप्रबन्धक वाङ लु, एसियाली बजारका बिक्री प्रबन्धक लुसिया वाङ, भिजी मोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे, बिजनेस हेड चन्दन रौनियारलगायतको उपस्थिति थियो। कार्यक्रममा एसआरएमका ब्रान्ड एम्बेसडर तथा नेपाली तेक्वान्दो खेलाडी दीपक विष्ट पनि सहभागी थिए।

भिजी मोटर्सले आगामी दिनमा चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पार्ट्सको उपलब्धता तथा ग्राहक सेवामा थप लगानी गर्ने जनाएको छ। १ हजार १११ थान बिक्रीको उपलब्धिपछि कम्पनीले अब नेपालमा १० हजार एसआरएम विद्युतीय सवारी बिक्री गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७