राठी ट्रेडिङले सुरु गर्यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क
भक्तपुरमा ४८० किलोवाटको चार्जिङ स्टेसनसहित अटो वर्क्स सञ्चालनमा
काठमाडौं : चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनीले भक्तपुरको मनोहरामा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ। बुधबार आयोजित कार्यक्रममा शाङच मोटर्सका इन्टरनेसनल जनरल म्यानेजर केन सुन र राठी ट्रेडिङका अध्यक्ष दिनेशकुमार राठीले ‘राठी अटो वर्क्स’ तथा ‘राठी चार्जिङ नेटवर्क’को औपचारिक शुभारम्भ गरे।
सर्भिस सेन्टरमा एकैपटक १२ वटा विद्युतीय सवारी चार्ज गर्न सकिने व्यवस्था छ। सर्भिसिङ, चार्जिङ र वासिङका साथै ग्राहकका लागि पार्किङ, बस्ने स्थान र क्याफेको सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सर्भिसिङका लागि आवश्यक स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र इलेक्ट्रिकल पार्ट्स स्टकमा राखिएको छ। सामान्य पार्ट्स ४८ घण्टाभित्र र अन्य पार्ट्स ७२ घण्टाभित्र देशभर उपलब्ध गराउने व्यवस्था गरिएको छ।

काठमाडौंमा ४८० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ भने नवलपरासीको गैँडाकोटमा ६४० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। यसै वर्ष देशका प्रमुख सहरमा पूर्वदेखि पश्चिमसम्म चार्जिङ नेटवर्क विस्तार गर्ने र ४ मेगावाट क्षमतासम्मका ‘वान स्टप सोलुसन’ चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने कम्पनीको योजना छ।
राठी ट्रेडिङले हाल आरजेडएम ई५ र आर५ गरी दुई मोडलका विद्युतीय भ्यान बिक्री गर्दै आएको छ। ई५ मा ५३.५ किलोवाट आवरको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ भने यसले एकपटक चार्ज गर्दा डब्लुएलटीपीअनुसार करिब ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। त्यस्तै, आर५ मा ७७.२८ र ८६.५५ किलोवाट आवरका ब्याट्री विकल्प छन्, जसले क्रमशः ३३० र ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आरजेडएमका विद्युतीय भ्यानमा १८० एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै चक्कामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, पावरफुल एसीलगायतका सुविधा छन्। राठी ट्रेडिङले ब्याट्रीमा ७ वर्ष वा ४ लाख किलोमिटर तथा मोटरलगायत अन्यमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ।

.gif)

.png)

