बाल हिंसाका घटना रोक्न प्रभावकारी अनुसन्धान र पीडितको गोपनीयता जोगाउन सिजपको आग्रह

बाल हिंसाका घटना रोक्न राज्यको जिम्मेवारी बढाउनुपर्ने सिजपको जोड


२०८३ भदौ ७ आइतबार ०९:०६ बजे

काठमाडौं : बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालिका तथा किशोरीमाथि हुने बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा अनलाइन हिंसाका घटना रोक्न राज्यका संयन्त्रलाई थप प्रभावकारी बनाउन माग गरेको छ। बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनासहित देशका विभिन्न स्थानमा बालिका तथा किशोरीमाथि भइरहेका हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिजपले दोषीमाथि शीघ्र र निष्पक्ष कानुनी कारबाहीको माग गरेको हो।

आइतबार जारी विज्ञप्तिमार्फत सिजपले पीडित बालिकाप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना व्यक्त गर्दै बालबालिकालाई हिंसा, शोषण र दुर्व्यवहारबाट जोगाउनु राज्यको प्रमुख दायित्व भएको जनाएको छ। सिजपका अध्यक्ष तिलोत्तम पौडेलले यस्ता घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

पीडित तथा परिवारलाई न्याय दिलाउनुका साथै आवश्यक कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। 

सिजपले घर, विद्यालय, सार्वजनिक स्थलदेखि अनलाइन माध्यमसम्म बालबालिकाका लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्ने माग गरेको छ। बाल हिंसाका घटनाको प्रभावकारी अनुसन्धानका लागि उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गर्नुपर्ने मागसमेत उसले अघि सारेको छ।

स्थानीय तह र विद्यालयमार्फत बालअधिकार, कानुनी साक्षरता तथा अभिभावक शिक्षालाई प्रभावकारी बनाउनुपर्ने सिजपको भनाइ छ। त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगलगायत सम्बन्धित निकायले यस्ता घटनाको प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरिएको छ।

पीडितको पहिचान गोप्य राख्न आग्रह

सिजपले बाल हिंसाका घटनाको समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई विशेष संवेदनशीलता अपनाउन आग्रह गरेको छ। पीडित बालबालिकाको पहिचान खुल्ने फोटो, नाम वा व्यक्तिगत विवरण सार्वजनिक नगर्न तथा घटनासँग सम्बन्धित विभत्स दृश्य, भिडियो वा शवका तस्बिर प्रसार नगर्न उसले आग्रह गरेको हो।

यस्ता सामग्रीको अनियन्त्रित प्रसारले पीडितको गोपनीयता र सम्मानको अधिकारमा असर पार्नुका साथै अन्य बालबालिकामा डर, त्रास तथा मनोसामाजिक असर पर्न सक्ने सिजपले जनाएको छ। बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सिजपले प्रत्येक बालबालिकाले भय, हिंसा र दुर्व्यवहारमुक्त वातावरणमा सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७