राहदानी छपाइ प्रकरणः आरजु राणामाथि छुट्टै अनुसन्धान गर्ने अख्तियारको निर्णय


२०८३ असार ८ सोमबार २०:०५ बजे

काठमाडौं, ८ असार : राहदानी (पासपोर्ट) छपाइका क्रममा भएको भनिएको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि छुट्टै अनुसन्धान प्रक्रिया अघि बढाउने भएको छ। आयोगले उनीविरुद्ध तत्कालै विशेष अदालतमा मुद्दा दायर नगरे पनि उनी जोडिएका विषयहरूमा थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकाल्दै छुट्टै मिसिल खडा गर्ने निर्णय गरेको हो।

विशेष अदालतको हालैको फैसला र आदेशलाई समेत आधार मान्दै आयोगले राहदानीको नयाँ ठेक्का प्रक्रियामा भ्रष्टाचारजन्य कार्य भएको हुन सक्ने आशंका व्यक्त गरेको छ। अख्तियार उच्च स्रोतका अनुसार, आयोगको पछिल्लो बैठकले डा. राणासँग जोडिएका कतिपय प्राविधिक र आर्थिक पक्षहरूमा थप स्पष्टता आवश्यक रहेको ठहर गरेको छ। सोही आधारमा ती विषयहरूसँग सम्बन्धित कागजातहरूको छुट्टै फाइल तयार पारेर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको हो।

यसअघि, अनुसन्धानको सिलसिलामा अख्तियारले डा. राणालाई बयानका लागि उपस्थित हुन बुढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेल गरेको थियो। सो समयमा स्वास्थ्य उपचारका लागि हङकङमा रहेकी पूर्वमन्त्री राणाले आफू भौतिक रूपमा उपस्थित हुन असमर्थ रहेको जानकारी इमेलमार्फत गराएकी थिइन्।

अख्तियार स्रोतका अनुसार उनी बयानमा उपस्थित हुन नसकेको र उनले पठाएको इमेलको विवरणलाई अहिलेको नियमित मुद्दाको प्रक्रियामा समावेश गरिएको छैन। यसलाई छुट्टै अनुसन्धानको विषय बनाइएकाले पुरानो फाइलमा उल्लेख नगरिएको बुझिएको छ।

राहदानी विभागको नयाँ ठेक्का प्रक्रियामा नीतिगत र कार्यगत रूपमा कस्तो भूमिका खेलिएको थियो भन्ने विषयमा आयोगले केन्द्रित रहेर अनुसन्धान गर्नेछ। अख्तियारको यो निर्णयसँगै डा. आरजु राणा देउवामाथि लागेका आरोपहरूमा कानुनी घेरा अझै कायमै रहेको देखिएको छ।

आयोगले तयार पारेको निर्णयको व्यहोरामा उल्लेख भएअनुसार, ठेक्का प्रक्रियाका क्रममा भएका निर्णयहरूमा क-कसको संलग्नता थियो र आर्थिक चलखेल भएको छ कि छैन भन्ने कुरा अबको विस्तृत अनुसन्धानको मुख्य कडी बन्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७