भदौ २३ र २४ का घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


२०८३ भदौ २४ बुधबार ०७:५९ बजे
फाइल फोटो

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानमार्फत स्थापित गर्नुपर्ने बताएकी छन्। 

घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसको भोलिपल्ट भएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिमाथिको क्षतिलाई एउटै प्रकृतिका घटनाका रूपमा हेर्न नहुने बताएकी हुन्। उनले आन्दोलनका क्रममा उठाइएका जायज माग र त्यसको मूल भावनाभन्दा फरक गतिविधि भएको तथा बाह्य घुसपैठ वा अवाञ्छित तत्त्वको संलग्नताको प्रश्नसमेत उठेकाले त्यसबारे निष्पक्ष अनुसन्धान आवश्यक रहेको उल्लेख गरेकी छन्।

भण्डारीले राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको भए पनि सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको बताएकी छन्। सञ्चारमाध्यममार्फत आयोगका केही विवरण बाहिरिए पनि घटनाको समग्र प्रकृति र संलग्न पक्षको भूमिकासम्बन्धी प्रश्न अझै पूर्ण रूपमा निरूपण हुन नसकेको उनको भनाइ छ।

उनले राजनीतिक पूर्वाग्रह वा आग्रह नराखी दुवै दिन भएका घटनाको सत्य, तथ्य र जिम्मेवारी स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्। ‘न्याय कसैलाई राजनीतिक प्रतिशोधका आधारमा दोषी ठहर गर्नु होइन,’ भण्डारीले भनेकी छन्, ‘प्रमाण र कानुनका आधारमा दोषीलाई जबाफदेही बनाउनु र निर्दोषमाथि अन्याय हुन नदिनु नै न्यायको मूल मर्म हो।’

राज्यका निकाय र आन्दोलनमा सहभागी नागरिक सबैका लागि कानुन समान हुनुपर्ने उनको धारणा छ। भण्डारीले एक वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै घटनाबाट उत्पन्न राजनीतिक असन्तुष्टि र नयाँ पुस्ताका आकाङ्क्षाले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएकी छन्। निर्वाचनमार्फत जनताले आफ्नो अभिमत व्यक्त गरिसकेको उल्लेख गर्दै उनले पछिल्लो परिवर्तनलाई लोकतान्त्रिक प्रक्रियाबाट संस्थागत गर्नुपर्नेमा जोड दिएकी छन्। सुशासन, पारदर्शिता, जबाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ।

गत वर्ष आफूले नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जबाफदेहीताका मागलाई सकारात्मक रूपमा लिँदै लोकतान्त्रिक विधिबाट समाधान खोज्न आग्रह गरेको स्मरण गर्दै भण्डारीले नागरिकका आवाज र असहमतिलाई सम्मान गर्नुपर्ने बताएकी छन्। तर लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिने उल्लेख गर्दै उनले नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग र सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने धारणा राखेकी छन्।

भण्डारीले भदौ २३ र २४ का घटनाबाट उत्पन्न पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार बनाउन नहुने बताएकी छन्। ती घटनालाई राष्ट्रिय आत्म समीक्षा र सुधारको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७