सिंगापुर जाँदै गरेको कार्गो जहाज बंगालको खाडीमा डुब्यो, दुई जनाको जीवितै उद्धार
२२ चालक दलका सदस्य अझै बेपत्ता
काठमाडौं : भारतको पूर्वी तटनजिक बंगालको खाडीमा पानामाको झण्डा भएको कार्गो जहाज डुबेको छ। जहाजमा चालक दलका २४ जना सदस्य सवार थिए । उनीहरूमध्ये दुईजनाको जिवितै उद्धार गरिएको छ भने २२ जनाको खोजी तथा उद्धार अभियान जारी रहेको छ।
‘एमभी ओसन विनर’ नामको उक्त जहाजमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक सवार थिए। शनिबार राति जहाजसँग सम्पर्क विच्छेद भएपछि म्यारिटाइम रेस्क्यु कोअर्डिनेसन सेन्टर (एमआरसीसी) ले खोजी तथा उद्धार अभियान सुरु गरेको हो। जहाज सञ्चालन गर्ने कम्पनी भिक्ट्री स्टार ग्रुप कम्पनी लिमिटेडले उद्धारका लागि सहयोग मागेपछि भारतीय अधिकारीहरूले अभियान अघि बढाएका हुन्।
दुई जनाको जीवितै उद्धार
सूचना प्राप्त भएपछि एमआरसीसीले अन्तर्राष्ट्रिय समुद्री सुरक्षा सञ्जाल सक्रिय गर्दै ‘एमटी आइसोपोस’ नामको अर्को जहाजलाई घटनास्थलतर्फ पठाएको थियो।
उद्धार टोलीले दुईवटा लाइफराफ्टबाट दुई जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरेको जनाएको छ। उद्धार गरिएका दुवै जनाको पहिचान भने तत्काल सार्वजनिक गरिएको छैन। बाँकी चालक दलका सदस्यको खोजीका लागि भारतीय तटरक्षक बलले अभियानलाई तीव्र बनाएको छ।
सिंगापुर जाँदै थियो जहाज
प्रारम्भिक विवरणअनुसार फलाम उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ बोकेको ‘एमभी ओसन विनर’ ओडिशाको पारादीप बन्दरगाहबाट सिंगापुरतर्फ जाँदै थियो। तर, यात्रा क्रममा जहाज ट्र्याकिङ प्रणालीबाट सम्पर्कविहीन भएको थियो। जहाज पारादीप तटबाट २०० समुद्री माइलभन्दा बढी टाढा रहेको बताइएको छ। अधिकारीहरूका अनुसार जहाजको अन्तिम रिपोर्ट गरिएको स्थान इस्ट आइल्यान्ड लाइटबाट करिब ३१० समुद्री माइल टाढा थियो।
जहाज डुब्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। बाँकी चालक दलका सदस्यको खोजीका लागि समुद्रमा उद्धार अभियान जारी रहेको भारतीय अधिकारीहरूले जनाएका छन्।
.gif)

.png)

