व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय बन्दै रिकण्डिसन अटो व्यवसायी संघ

आमाघरलाई सहयोग जुटाउँदै रिकण्डिसन अटो व्यवसायी


२०८३ भदौ ७ आइतबार ०९:१९ बजे
कार्यक्रमलाई सम्बोधन गर्दै आमाघरकी सञ्चालक तथा प्रमुख अतिथि दिलशोभा श्रेष्ठ ।

काठमाडौं : नेपाल रिकण्डिसन अटो व्यवसायी संघले ज्येष्ठ नागरिक तथा बालबालिकाको सेवामा समर्पित ‘आमाघर’को निर्माणाधीन भवनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। काठमाडौंमा शनिबार सम्पन्न संघको ११औँ वार्षिक साधारणसभाका अवसरमा संघले आमाघरको भवन निर्माणमा सहयोग गर्ने जनाएको हो। कार्यक्रममा सहभागी शान्ति कार हाउसका सञ्चालक राजु खड्काले आमाघरका लागि ५१ हजार रुपैयाँ सहयोगसमेत प्रदान गरे।

आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठले आमाघरले तीन दशकदेखि बालबालिका तथा ज्येष्ठ नागरिकको सेवामा काम गर्दै आएको बताइन्। सामाजिक सेवाको यात्रामा विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यस्ता कार्यमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन्। श्रेष्ठले बालबालिकालाई उचित शिक्षा र असल संस्कार दिनुपर्नेमा जोड दिँदै अभिभावकप्रतिको जिम्मेवारीसमेत इमानदारीपूर्वक पूरा गर्न आग्रह गरिन्।

संघका अध्यक्ष प्रविण लामिछानेको अध्यक्षतामा सम्पन्न साधारणसभामा रिकण्डिसन अटो व्यवसायी, यातायात क्षेत्रका व्यक्तित्व, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिको सहभागिता थियो।

आफ्नै भवन निर्माण गर्ने तयारी

साधारणसभामा संघले आफ्नै भवन निर्माणको तयारी अघि बढाएको जानकारीसमेत दिइयो। महासचिव कुमार बोगटीले भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने र त्यसका लागि व्यवसायीहरूले आर्थिक योगदान गर्ने प्रतिबद्धता जनाएको बताए।

संघका अध्यक्ष लामिछानेले व्यवसायीका समस्या समाधान तथा हकहित संरक्षणका लागि संघ निरन्तर सक्रिय रहने बताए। संघलाई थप प्रभावकारी र व्यवसायीमैत्री बनाउन सबै व्यवसायीको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

निवर्तमान अध्यक्ष तथा संरक्षक रमेशप्रसाद कोइरालाले रिकण्डिसन सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट लगानी हुन थालेको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। व्यवसाय विस्तार र व्यवस्थित गर्न वित्तीय क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने उनले उल्लेख गरे।

बीमा कम्पनीसँग सम्झौता

साधारणसभाकै अवसरमा नेपाल रिकण्डिसन अटो व्यवसायी संघ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच व्यावसायिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताले रिकण्डिसन अटो व्यवसायी र बीमा क्षेत्रबीचको सहकार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

साधारणसभामा व्यवसायको समस्या, व्यवसायीको हकहित, बैंक तथा वित्तीय संस्थाको लगानी, बीमा सहकार्य र आवश्यक नीतिगत सुधारबारे पनि छलफल भएको थियो। बन्दसत्रमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको संघले जनाएको छ। संशोधित विधानअनुसार हरेक आर्थिक वर्षमा समयमै साधारणसभा गर्ने व्यवस्था लागू गरिने बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७