अविरल वर्षाको असर : अरनिको राजमार्गसहित विभिन्न राजमार्ग बन्द, यात्रा प्रभावित
अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीको आग्रह
काठमाडौं : लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालनको व्यवस्था गरिएको छ।
बागमती प्रदेशमा बाढी तथा पहिरोको जोखिमका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्तिलोकपथमा पनि रातिको समयमा सवारी आवागमन रोकिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी तथा लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा बन्द रहेको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा समेत सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
गण्डकी प्रदेशमा बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ। मुस्ताङको बेनी–जोमसोम सडकखण्ड तथा मनाङका विभिन्न सडकमा समेत पहिरोका कारण यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशमा रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा भने सडक सञ्चालनमा रहेको छ। यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ मा बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
वर्षा अझै जारी रहेकाले अवरुद्ध सडकखण्डमा थप क्षति हुन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।


.gif)

.png)

