बेलायत फर्किँदै प्रिन्स ह्यारी–मेघन, राजकीय भूमिकामा भने फर्किने छैनन्
गोर्खा सैनिकसँग ह्यारीको पुरानो सम्बन्ध पनि चर्चामा
काठमाडौं : बेलायती राजपरिवारका सक्रिय सदस्यको भूमिका त्यागेर अमेरिका पुगेको छ वर्षपछि प्रिन्स ह्यारी र मेघन मर्कल फेरि बेलायत फर्किने भएका छन्। तर, उनीहरूको यो पुनरागमन शाही जिम्मेवारीमा फर्किनका लागि भने होइन। ड्युक र डचेस अफ ससेक्स आफ्ना दुई सन्तान—७ वर्षीय प्रिन्स आर्ची र ५ वर्षीया प्रिन्सेस लिलिबेटसहित यसै महिना अमेरिकाबाट बेलायत सर्ने तयारीमा रहेका छन्। उनीहरूका छोराछोरीले सेप्टेम्बरदेखि विद्यालय जान सुरु गर्ने भएकाले पनि परिवार बेलायत फर्किन लागेको बताइएको छ।
रिपोर्टअनुसार ह्यारी र मेघन लन्डनबाहिरको एउटा निजी गैर–राजकीय निवासमा बस्नेछन्। उनीहरूको राजकीय जिम्मेवारी नभएको शाही हैसियत भने कायमै रहनेछ। उनीहरू बेलायत फर्किने खबरसँगै सबैभन्दा बढी चर्चा सुरक्षाको विषयमा हुन थालेको छ। सन् २०२० मा सक्रिय राजपरिवारको भूमिका त्यागेर अमेरिका गएपछि ह्यारी र मेघनको बेलायतमा उपलब्ध गराइने सुरक्षा व्यवस्था घटाइएको थियो। अमेरिकामा बस्दा उनीहरूले सुरक्षाको खर्च आफैं व्यहोर्दै आएका छन्।
ह्यारीले आफू र परिवारका लागि करदाताको रकमबाट सशस्त्र सुरक्षा उपलब्ध गराउन माग गर्दै आएका छन्। तर, ‘द टाइम्स’ का अनुसार ह्यारी–मेघन र उनीहरूका परिवारलाई सार्वजनिक कोषबाट सशस्त्र सुरक्षा उपलब्ध गराउने कुनै योजना छैन। गत वर्ष आफ्नो सुरक्षा स्तर घटाउने निर्णयविरुद्ध अदालत पुगेका ह्यारीको प्रयास असफल भएको थियो। त्यसपछि उनले बीबीसीसँग सुरक्षामा गरिएको कटौतीका कारण परिवारलाई बेलायत ल्याउन कठिन भएको बताएका थिए।
ह्यारीले माग गर्दै आएको स्तरको सुरक्षा हाल राजा–रानी, प्रिन्स तथा प्रिन्सेस अफ वेल्स विलियम र क्याथरिन तथा उनीहरूका तीन सन्तानलाई उपलब्ध गराइएको छ। ह्यारी–मेघन बेलायत फर्किने योजनाबारे चर्चा भइरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले उनीहरूको सुरक्षासम्बन्धी विषयलाई निजी मामिला बताएका छन्। उनले सुरक्षामा लाग्ने खर्चबारे टिप्पणी गर्न अस्वीकार गर्दै ह्यारी–मेघनलाई नयाँ कदमका लागि शुभकामना दिएका छन्।
ह्यारी र मेघनले सन् २०२० जनवरी ८ मा राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट पछि हट्ने घोषणा गरेका थिए। आर्थिक रूपमा स्वतन्त्र बन्ने र आफ्नो समय बेलायत तथा उत्तर अमेरिकाबीच बाँड्ने उनीहरूको योजनालाई सञ्चारमाध्यमले ‘मेक्जिट’ नाम दिएका थिए। राजपरिवारभित्रको भूमिका, बेलायती ट्याब्लोइड मिडियासँगको तनाव र मेघनमाथि भएको व्यवहारलाई लिएर उनीहरू राजपरिवारबाट अलग भएका थिए।
सन् २०२१ मा ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तामा उनीहरूले राजपरिवारभित्र आफूहरूले भोगेको दबाब र मेघनले सामना गरेको कथित नस्लीय व्यवहारबारे गम्भीर आरोपसमेत लगाएका थिए। त्यसपछि राजपरिवारसँग ह्यारीको सम्बन्ध थप तनावपूर्ण बनेको थियो। सन् २०२३ मा प्रकाशित उनको संस्मरण ‘स्पेयर’ले पनि परिवारभित्रका विवादलाई थप सार्वजनिक बनाएको थियो, विशेषगरी दाजु प्रिन्स विलियमसँगको सम्बन्धमा दूरी बढेको बताइन्छ।
सन् २०२० मा क्यानडाबाट अमेरिका पुगेपछि ह्यारी र मेघन क्यालिफोर्नियाको मोन्टेसिटोमा बस्दै आएका छन्। त्यहाँ उनीहरूले नेटफ्लिक्सलगायत विभिन्न व्यावसायिक परियोजनामार्फत राजकीय भूमिकाभन्दा बाहिर आफ्नो सार्वजनिक र व्यावसायिक जीवन अघि बढाएका छन्।
पछिल्ला वर्षमा भने ह्यारी र राजपरिवारबीचको सम्बन्धमा केही नरमपन देखिन थालेको छ। विशेषगरी राजा चार्ल्सको स्वास्थ्य समस्यापछि ह्यारीले बुबासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत दिएका छन्। सन् २०२६ मा उनीहरूबीच भेटघाटसमेत बढेको बताइएको छ। यसपटक बेलायत फर्किने निर्णयको मुख्य कारण सन्तानको शिक्षा र परिवारसँगको दूरी कम गर्नु रहेको विभिन्न रिपोर्टमा उल्लेख छ।
नेपाल र गोर्खा सैनिकसँग ह्यारीको निकट सम्बन्ध
प्रिन्स ह्यारीको नेपाल र गोर्खा सैनिकसँग पनि विशेष सम्बन्ध रहेको छ। उनले ब्रिटिस गोर्खा सैनिकसँग लामो समय बिताएका छन् भने नेपालसँगको आफ्नो सम्बन्धबारे पनि विभिन्न अवसरमा खुलेर प्रशंसा गरेका छन्।
नेपालको महाभूकम्पपछि नेपाल भ्रमणमा आएका ह्यारीले उत्तरी गोरखाको लापु गाउँ विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सहयोग गरेका थिए। उनले अन्नपूर्ण हिमश्रृंखला र बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्य कहिल्यै नबिर्सने बताएका थिए। अफगानिस्तान युद्धका क्रममा सँगै रहेका गोर्खा सैनिकसँगको सम्बन्धबाट आफूले खुशी र गर्व महसुस गर्ने गरेको पनि उनले बताउँदै आएका छन्। ह्यारीले गोर्खाली सैनिकको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्दै आएका छन्।
.gif)

.png)

