मन्त्री घिसिङ बञ्चरेडाँडा पुगेपछि के-के सहमति भयो ?

फोहोर बोकेका गाडी जान थाले बन्चरेडाँडा


२०८२ कार्तिक १६ आइतबार १४:४१ बजे

काठमाडौँ : सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइट आसपासका स्थानीय बासिन्दालाई १५ दिनभित्र माग पूरा गर्ने वचन दिएका छन्।

स्थानीयवासीहरूले चार दिनदेखि फोहोर फाल्न रोकेका थिए । काठमाडौँ महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगर बासीलाई भनेको थियो ।

शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।

मन्त्री घिसिङले आइतबार साइटमा पुगेर स्थानीय र ककनी क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए । यससँगै, स्थानीयहरू अस्थायी रूपमा फोहोर फाल्न दिन सहमत भएका छन् ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्रीले अघिल्ला सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

'मन्त्रीज्यूले हालसम्म भएका सहमतिहरू १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिज्ञा गर्नुभयो। यदि समयभित्र काम सम्पन्न नभए, स्थानीयले आफ्ना अधिकार प्रयोग गर्ने कुरा पनि उहाँले स्पष्ट गर्नुभयो।' अध्यक्ष तामाङले भने ।

यसैबीच, काठमाडौं उपत्यकामा रोकिएको फोहोर विसर्जन फेरि सुरु भएको छ । सडकमै अलपत्र परेका फोहोरले सिर्जना गरेको समस्या समाधान भएपछि फोहोर लोड भएका गाडीहरू बन्चरेडाँडा ल्यान्डफिल साइटतर्फ प्रस्थान गरेका छन् ।

साथै, स्थानीयले उठाएको लिच्चड व्यवस्थापनका लागि समिति गठन हुने भएको छ । जसमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका प्रतिनिधि रहनेछन् । हाल बिग्रिएको पम्प तत्काल सञ्चालन गरेर पोखरीमा जम्मा लिच्चड नियन्त्रणमा राखिने प्रतिबद्धता जनाइएको छ ।

फोहोर व्यवस्थापनमा वैज्ञानिक दृष्टिकोण अपनाउन सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउने र साइटमा रात्रिकालीन बत्ती व्यवस्था गर्ने योजना समेत रहेको छ। प्रभावित क्षेत्र पहिचानका लागि पूरक वातावरणीय मूल्याङ्कन (ईआईए) आवश्यक हुने हुँदा स्थानीयलाई धैर्य राख्न अनुरोध गरिएको छ।

दीर्घकालीन समाधानका लागि कानुनी अडचन र लगानी बोर्डको प्रक्रिया समेट्दै काठमाडौं उपत्यकाका मेयरहरूको फोरमलाई समेत सहभागी गराइनेछ । स्थानीय प्रशासन र सरोकारवालाहरूले दीर्घकालीन कार्ययोजना सहित फोहोर व्यवस्थापन अगाडि बढाउन जोड दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७