बञ्चरेडाँडाको अवरोध हटेपछि कुलमानले दिए धन्यवाद
काठमाडौं : काठमाडौं उपत्यकाको फोहर विसर्जनस्थल बञ्चरेडाँडामा स्थानीयले गर्दै आएको अवरोध हटेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले खुसी व्यक्त गरेका छन् ।
बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्थानीयबिचको छलफल ११ बुँदे सहमतिसहित टुङ्गिएको हो । अवरोध हटाउन साथ, सहयोग दिने सबैप्रति मन्त्री घिसिङले धन्यवाद व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जनमा हुँदै आएको अवरोध निरन्तरको प्रयासपछि भएको ११ बुँदे सहमति पछि हटेको छ। अवरोध हटाउन साथ सहयोग र सहजीकरण गर्नु हुने सबैलाई धन्यवाद।’
सरकार र स्थानीयबीच भएको सहमतिमा स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, ईआइए प्रतिवेदन छिटो तयार गर्नको कन्सलटेन्ट कम्पनीलाई पत्राचार गरी सोको लिखित प्रतिबद्धता समेत लिने, आगामी आ।व। को बजेटमा ईआइए प्रतिवेदन अनुसारको जग्गा अधिकरणको लागि आवश्यक बजेट विनियोजन गर्ने कार्य अगाडि बढाउने सहमति भएको छ ।
त्यस्तै बञ्चरे डाँडाको स्थानीयहरूको लागि तत्काल आव २०८२/८३ को घर टहरा तथा बालीको मुआब्जा दिनको लागि काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने समझदारी भएको छ ।
फोहोर फाल्नको लागि तयार पारेको क्यापिङ लेयर भन्दा पनि बाहिर गएर वरपरको डाँडा कटान गरी फोहोर फालेको कारण लिचेट सिधै पानीको मुहानमा मिसिएको कारण कोल्पु खोला प्रदुषण भई स्थानीयको जीवनयापनमा ठूलो असर परेको भन्दै सो कार्य तत्काल रोकी उक्त कार्य गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने र लिचेटको उचित व्यवस्थाको लागि १५ दिनभित्र विज्ञको टोली तयार गरी फिल्ड निरीक्षण समेत गरी दीर्घकालीन समाधानको बाटो अपनाउने सहमति भएको छ ।
.gif)

.png)

