हालान्डसामु चौथोपटक गोल्डेन बुट जित्ने चुनौती


२०८३ भदौ २ मंगलबार १८:५४ बजे

एजेन्सी । म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा चौथोपटक गोल्डेन बुट जित्दै कीर्तिमान बराबरी गर्ने लक्ष्य राखेका छन्।

लिभरपुलका मोहम्मद सलाह प्रिमियर लिगमा नरहेपछि यसपटक गोल्डेन बुटको दौड हालान्डका लागि केही सहज देखिए पनि उनलाई चुनौती दिने खेलाडीको सूची लामो छ।

प्रिमियर लिगमा बिताएका चार सिजनमध्ये तीनमा सर्वाधिक गोल गरेका हालान्डले २०२२–२३ सिजनमा ३६ गोल गरेका थिए। उक्त प्रदर्शनसँगै उनले एकै सिजन सर्वाधिक गोल गर्ने प्रिमियर लिग कीर्तिमानसमेत बनाएका थिए। त्यसपछि पछिल्ला दुई सिजनमा समान २७ गोल गर्दै उनले लगातार गोल्डेन बुट जितेका छन्।

२६ वर्षीय नर्वेली स्ट्राइकरले प्रिमियर लिगमा १३२ खेलबाट ११२ गोल गरिसकेका छन्। त्यसैले यसपटक पनि उनी गोल्डेन बुटका प्रमुख दाबेदार मानिएका छन्।

इसाक मुख्य चुनौती

हालान्डलाई लिभरपुलका अलेक्जान्डर इसाकले कडा चुनौती दिने सम्भावना छ। इसाकले २०२४–२५ सिजनमा २३ गोल गर्दै गोल्डेन बुटको दौडमा दोस्रो स्थान हासिल गरेका थिए। चोटका कारण गत सिजन अपेक्षित प्रदर्शन गर्न नसके पनि फिट रहन सके उनले पुनः उत्कृष्ट लय समात्न सक्छन्।

थियागो र जोआओ पेड्रो पनि दाबेदार

ब्रेन्टफोर्डका इगोर थियागो पनि बलियो दाबेदारका रूपमा हेरिएका छन्। इंग्ल्यान्डमा आफ्नो पहिलो पूर्ण सिजनमै २२ प्रिमियर लिग गोल गरेका थियागो गत सिजन हालान्डपछि दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए।

चेल्सीका जोआओ पेड्रोले पनि गत सिजन गरेको १५ गोलभन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्य राख्नेछन्। यस्तै, आर्सनलका भिक्टर योकेरेस, एस्टन भिल्लाका ओली वाट्किन्स र म्यानचेस्टर युनाइटेडका बेन्जामिन सेस्को पनि गोल्डेन बुटको दौडमा सम्भावित दाबेदार हुन्।

योकेरेसले आफ्नो पहिलो प्रिमियर लिग सिजनमा १४ गोल गरेका थिए भने वाट्किन्सले गत सिजन १६ गोल गरेका थिए। युनाइटेडका सेस्कोले गत सिजन ११ गोल गरेका थिए।

बढ्दै छ गोल्डेन बुटको प्रतिस्पर्धा

पछिल्ला वर्षमा प्रिमियर लिगको गोल्डेन बुट जित्न आवश्यक गोलसंख्या बढ्दै गएको छ। २०१८–१९ देखि २०२१–२२ सम्म कुनै पनि सिजन २३ भन्दा बढी गोल आवश्यक परेको थिएन। तर पछिल्ला चार सिजनका विजेताले २७ देखि ३६ गोलसम्म गरेका छन्।

मोहम्मद सलाहले चारपटक गोल्डेन बुट जितेर थिएरी हेनरीको कीर्तिमान बराबरी गरेका छन्। अब हालान्डसँग पनि यस सिजन चौथोपटक गोल्डेन बुट जित्दै उक्त कीर्तिमान बराबरी गर्ने अवसर छ।

हालान्डले आफ्नो उत्कृष्ट गोल लय कायम राख्न सके प्रिमियर लिगमा लगातार तेस्रो तथा समग्रमा चौथोपटक गोल्डेन बुट जित्ने सम्भावना बलियो देखिन्छ। तर इसाक, थियागो, पेड्रो, योकेरेस, वाट्किन्स र सेस्कोजस्ता खेलाडीले उनलाई कति चुनौती दिन सक्छन् भन्ने विषयले यस सिजनको गोल्डेन बुट दौडलाई थप रोमाञ्चक बनाउनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७