आफ्ना नालायकी र लफङ्गागिरी ढाक्न रास्वपा पुराना दलमा पुरानै नेता चाहन्छ : घनश्याम भुसाल
‘अदालतले गगनहरूको मुद्दा उल्टिन सक्ने गरी एउटा निस्सा जारी गरेको छ’
काठमाडौं : नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कमजोरी, नालायकी र गलत गतिविधि ढाक्न पुराना राजनीतिक दलमा पुरानै नेतृत्व कायम रहोस् भन्ने चाहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने?’ विषयक राष्ट्रिय बहसमा बोल्दै भुसालले नयाँ भनिएको राजनीतिक शक्तिको वैधानिकता कायम राख्न पुराना दलका पुरानै नेतृत्व आवश्यक पर्ने निष्कर्ष रास्वपाको रहेको दाबी गरेका हुन् ।
भुसालले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिनुलाई अस्वाभाविक घटनाका रूपमा टिप्पणी गरे । उनले सर्वोच्चको पछिल्लो आदेशका कारण विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेसको वैधानिकता उल्टिन सक्ने सम्भावना रहेको बताए ।
कांग्रेसको नेतृत्वसम्बन्धी विवाद उल्टिने अवस्था आए त्यसले मुलुकको राजनीतिक परिस्थिति थप जटिल बन्न सक्ने उनको भनाइ छ । यस्तो अवस्थामा संविधान र लोकतन्त्रमाथि समेत संकट उत्पन्न हुन सक्ने भुसालले चेतावनी दिए ।
उनले कांग्रेसको विवाद उल्टिएपछि दुईवटा सम्भावना देखिने बताए । पहिलो, सत्तारुढ शक्तिले आफ्ना कमजोरी ढाक्न थप ठूला गतिविधि गर्न सक्ने र दोस्रो, पुरानै राजनीतिक नेतृत्वलाई निरन्तरता दिने प्रयास हुन सक्ने उनको भनाइ छ ।
‘यिनीहरूले नै आफ्ना नालायकीहरूलाई ढाक्नका लागि, लफङ्गागिरीलाई ढाक्नका लागि अझै ठूला–ठूला गतिविधिहरू गर्न सक्छन् । मनपरी गर्न सक्छन् । वा यिनीहरूले फेरि जो नालायकहरू हुन्, ती नालायकहरूलाई नै राखेर अघि बढ्न खोज्छन्,’ भुसालले भने ।
पुराना राजनीतिक दलका नेतृत्व परिवर्तन नहुँदा नयाँ भनिएका शक्तिको राजनीतिक वैधानिकता कायम राख्न सहज हुने उनको तर्क छ । ‘किनभने नालायकहरू नहट्दाखेरी नै नयाँ भनिने शक्तिको पनि लेजिटिमेसी कायम रहन्छ,’ उनले भने ।
भुसालले विशेष महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व आएको विषयलाई उल्ट्याउने प्रयास भए त्यसको प्रभाव कांग्रेसभित्र मात्रै सीमित नरहने बताए । त्यसले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने परिस्थिति सिर्जना गर्न सक्ने उनको भनाइ छ ।
उनले पछिल्लो राजनीतिक परिस्थितिमा सत्तारुढ शक्तिको भूमिकामाथि समेत प्रश्न उठाउँदै सरकारका गतिविधिले मुलुकलाई थप राजनीतिक दुर्घटनातर्फ लैजान सक्ने खतरा रहेको बताए ।
भुसालले यसअघि पनि गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कम्युनिष्ट दलहरूले व्यहोरेको पराजयको कारणसमेत अहिलेसम्म पत्ता लगाउन नसकेको बताएका थिए । कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गरी त्यसलाई थप सशक्त र जनतामाझ स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
उनले निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था झन् जटिल बन्दै गएको टिप्पणी गर्दै सरकार यही गतिमा अघि बढिरहे थप गम्भीर राजनीतिक दुर्घटना निम्तिन सक्ने चेतावनीसमेत दिएका छन् ।
.gif)

.png)

