अमेरिकी हतियारबारे सूचना चुहाउनेलाई लामो जेल सजाय हुन्छ : ट्रम्प
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हतियार तथा गोला–बारुदको अभाव रहेको भन्ने समाचारलाई अस्वीकार गर्दै पर्याप्त हतियार भण्डार रहेको दाबी गरेका छन्। साथै, यस्तो सूचना चुहाउनेहरूविरुद्ध कडा कारबाही गरिने र उनीहरूले लामो जेल सजाय भोग्नुपर्ने चेतावनी दिएका छन्।
ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकासँग विशेष प्रकारका हतियारसहित ठूलो परिमाणमा गोला–बारुद मौज्दात रहेको बताएका हुन्। यद्यपि, उनले त्यसको परिमाण वा अन्य विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्।
उनले लेखेका छन्, "ठूलो मात्रामा गोला–बारुद उत्पादन भइरहेको छ र आवश्यक परे तुरुन्त उपलब्ध गराइनेछ। रक्षा उद्योगहरूले अमेरिकी इतिहासमै सबैभन्दा धेरै नयाँ कारखाना र उत्पादन केन्द्र निर्माण गरिरहेका छन्।"
वासिङ्टन पोस्टका अनुसार गत शुक्रबार क्याम्प डेभिडमा भएको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले रक्षा मन्त्री पिट हेगसेथसँग गोला–बारुदको कथित अभावबारे स्पष्टीकरण मागेका थिए। पत्रिकाले स्रोतलाई उद्धृत गर्दै ट्रम्पले आफूले यो समस्या पहिले नै समाधान भइसकेको ठानेको जनाएको थियो। यस्ता समाचारप्रति प्रतिक्रिया जनाउँदै ट्रम्पले भने, "यी देशद्रोही सूचना चुहाउने व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूले लामो जेल सजाय भोग्नेछन्।"
यसअघि सीएनएनले लामो दूरीका निर्देशित मिसाइल र हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टर मिसाइलको अभावले इरानसम्बन्धी ट्रम्प प्रशासनको रणनीतिमा असर परेको दाबी गरेको थियो। उक्त रिपोर्टमा अमेरिकी सेनाले आफ्नो थाड हवाई प्रतिरक्षा प्रणालीका करिब ८० प्रतिशत मिसाइल प्रयोग गरिसकेको उल्लेख गरिएको थियो।
त्यस्तै, वासिङ्टन पोस्टले हतियारको अभावकै कारण ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिए पनि केही नयाँ सैन्य कदम स्थगित गरेको दाबी गरेको थियो।
यद्यपि, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प र रक्षा मन्त्री पिट हेगसेथबीच मतभेद रहेको समाचारलाई 'फेक न्युज' भन्दै अस्वीकार गरेकी छन्।
पेन्टागनका वरिष्ठ प्रवक्ता सिन पार्नेलले पनि ट्रम्प–हेगसेथबीच विवाद तथा हतियार अभावसम्बन्धी सबै रिपोर्टहरू पूर्ण रूपमा भ्रामक भएको बताएका छन्।
-बीबीसी
.gif)

.png)

