इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित बैंकका पदाधिकारीलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामीसम्बन्धी प्रकरणमा यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो। सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अध्यक्ष पाँडेसहित १५ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
पक्राउ अनुमति जारी भएपछि प्रहरीले उनीहरूको खोजी थालेको थियो। त्यसपछि अध्यक्ष पाँडेलगायत सञ्चालकहरूको तर्फबाट सीईओ पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अध्यक्ष पाँडे तथा सञ्चालकहरू प्रजन्य राजभण्डारी, कविकुमार टिबडेवाल, दीपांकर उदय, शालिकराम बेलबासे र शोभा श्रेष्ठका नाममा जारी गरिएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
उक्त प्रकरण चार अर्ब रुपैयाँ ऋणसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ। सीआईबीका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
सर्वोच्च अदालतले दुवै पक्षलाई साउन २५ गते छलफलका लागि बोलाएको छ। सोही दिन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सुनुवाइ हुनेछ।
.gif)

.png)

