फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो


२०८३ श्रावण ३ आइतबार ०५:१४ बजे

काठमाडौं : फ्रान्समाथि रोमाञ्चक जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अमेरिकाको मियामी स्टेडियममा आइतबार बिहान भएको निकै प्रतिस्पर्धात्मक र उच्च गोल संख्याको खेलमा फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले तेस्रो स्थान सुरक्षित गरेको हो ।

इंग्ल्यान्डको यो ऐतिहासिक जितमा स्टार स्ट्राइकर बुकायो साका नायक बने, जसले खेलमा उत्कृष्ट ह्याट्रिक पूरा गरे । खेलको तेस्रो मिनेटमै डिएलन राइसको गोलबाट सुरुवाती अग्रता लिएको इंग्ल्यान्डले खेलको पहिलो हाफमा पूर्ण रूपमा दबदबा कायम राखेको थियो ।

१८औं मिनेटमा एज्री कोन्शाले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए भने ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा साकाले लगातार दुई गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमै ४–० को बलियो स्थितिमा पुगेको थियो ।

चार गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा भने फ्रान्सले अप्रत्याशित र सानदार पुनरागमनको प्रयास गर्‍यो । खेलको ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काए ।

त्यसलगत्तै ५४औं मिनेटमा ब्राडली बारकोला र ६६औं मिनेटमा पुनः कप्तान एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–३ को अत्यन्तै रोमाञ्चक मोडमा आइपुगेको थियो ।

खेलको उत्तरार्धमा दुवै टोलीबीच थप आक्रामक प्रतिस्पर्धा भयो । ८७औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी प्राप्त गर्‍यो, जसलाई बुकायो साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीको अग्रता ५–३ मा पुर्‍याए ।

दोस्रो हाफको इन्जुरी समयमा फ्रान्सका उस्मान डेम्बेलेले गोल गर्दै खेललाई ५–४ को स्थितिमा ल्याएर खेलमा फर्किने अन्तिम प्रयास गरे पनि खेलको अन्तिम समयमा जुड बेलिंघमले गोल थपेपछि इंग्ल्यान्डले ६–४ को जित सुनिश्चित गर्‍यो ।

सन् १९६६ मा विश्वकपको उपाधि जितेयता इंग्ल्यान्डले फुटबलको महाकुम्भमा हासिल गरेको यो नै सबैभन्दा उत्कृष्ट स्थान हो । यसअघि सन् २०१८ मा रसियामा भएको फिफा विश्वकपमा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७