फकल्याण्ड युद्ध लडेका गोर्खा सैनिकको सम्झनामा ‘फकल्याण्ड युद्ध’

यसरी कब्जा गर्यौं फकल्यान्ड

लडाइँमा हुँदा पनि मान्छेले आफ्नो ज्यानको माया कति गर्छ भन्ने म आफूले त्यतिबेला अनुभूत गर्न पाएँ । जब हामीले बङ्करभित्र छिर्यौं, बडो टीठलाग्दो तरिकाले अर्जेन्टिनीहरू लुकेर बसेका थिए ।


२०८३ श्रावण २ शनिबार १२:२९ बजे

म फकल्यान्ड युद्धको दुई वर्ष अगाडि सन् १९८० मा २१ वर्षको उमेरमा भर्ती भएँ । २२ वर्ष पार गर्दैगर्दा मैले युद्ध लड्नु पर्‍यो । ब्रिटिस सैनिकका रुपमा मैले फकल्यान्ड युद्ध बेहोर्नुपर्‍यो ।  हङकङमा तालिम सकिएपछि म सेभेन गोरखा राइफल्समा परेँ । त्यसबेला यो पल्टन ग्यालिपोलीमा कार्यरत थियो । सन् १९८१ मा पल्टनलाई बेलायत भ्रमणमा लगियो ।

बेलयात भ्रमण रहेकै बेला मलाई राइफल्सको बी कम्पनी मार्फत् बेलिज खटाइयो । बेलिज मध्य अमेरिका हो, त्यतिबेला यो ब्रिटिस होन्डुरसको राजधानी थियो तथा बेलायतको उपनिवेश राज्य । बेलिजको झगडा त्यतिबेला ग्वाटेमालासँग थियो । म ६ महिनाका लागि बेलिज खटिएँ । बेलिज हुँदाखेरि नै हाम्रो पल्टन फकल्यान्ड युद्धमा जाने निधो भएको सूचना पाएँ । 

 

युद्ध समाप्तीपछि फकल्याण्डमा राई

बेलिजबाट बेलायत फर्केपछि हाम्रो कम्पनीले दुई रात मात्र बस्न पायो । बेलायत आइपुग्दा फकल्यान्ड युद्धका हाम्रा सबै बन्दोबस्तीहरू तयारी थिए । फकल्यान्ड जानेदिन परेड स्वायरमा दर्जनौँ गाडी हामीलाई लिन आएका थिए । गाडीले हामीलाई साउथ ह्याम्पटन बन्दरगाह पुर्‍यायो । त्यहाँ हामीलाई लान ठीक्क क्वीन एलिजावेथ २ पानीजहाज तयार थियो । फकल्यान्ड युद्धकै लागि भनेर पानीजहाजलाई मोडिफाइ गरिएको थियो । त्यहाँ तीन वटा त हेलिप्याड बनाइएको थियो । 

हामी लडाइँमा जाने बेला बाँचिन्छ कि बाँचिन्न भन्दा पनि जमिन टेक्न पाइएला कि नपाइएला भन्ने पीर थियो । किनभने उतिबेला पानीजहाजहरूमाथि नै आक्रमण हुँदा कति पानीमा नै बिलाउँथे । यदि त्यसो भएमा हामीलाई त्यत्रो महासागरमा कुनै फाइटर वा हेलिकप्टर उद्धार गर्न आउने कुनै चानस थिएन । जमिनमा आधापिल्टो भए पनि बाँचिएला भन्ने आश हुन्छ, पानीमा त्यस्तो सम्भावना पनि हुन्न । पानीमा विशाल पहाड जत्रा छालहरू आउँथे । त्यसले हल्लाएर पनि मनले आफ्नो आयु सम्झाइरहन्थ्यो । 

युद्ध समाप्तीपछि फकल्याण्ड

युद्धमा हिँडेको गोरखाहरूको साझा पुकारा भन्नु नै जमिन टेक्न पाउँ भन्ने थियो । हामी हिँडेको २२ दिनमा एसेन्सन टापु पुग्यौँ । यो टापु बेलायतबाट जाँदा बाटोमा पर्ने अफ्रिका महादेशको पश्चिमी गोलाद्र्धमा एटलान्टिक महासागरको बीचमा रहेको टापु हो । त्यहाँबाट साउथ जर्जिया पुग्न २ दिन लाग्यो । साउथ जर्जिया चट्टानैचट्टान भएको सानो टापु हो । त्यहाँ पानीजहाज १० घण्टा जति रोकियो । हामीलाई फकल्यान्ड उतार्ने पानीजहाज भने अर्कै थियो थियो । हामी फकल्यान्ड पुग्न लाग्दादेखि सास्ती सुरु भएको थियो । खाना खान बस्दा पनि अर्जेन्टिनाले आक्रमण गर्ने भयले सतर्क हुनुपथ्र्यो । घरिघरि खाना छोडेर बन्दुक समाइहाल्नुपथ्र्यो । 

हामी फिल्ड फोर्स वा थल सेना थियौँ । हामीले मे १ तारिखमा फकल्यान्डको जमिन टेक्यौँ । जमिन टेक्नासाथ आफू अट्ने बङ्कर खनेर लुकिहाल्नुपथ्र्यो । यसरी बङ्कर खन्दै, लुक्दै हामी अगाडि बढ्दै गयौँ । रातमा चिनोक हेलिकप्टरले भुइँभुइँमा उडाउँदै अर्कै ठाउँ पुर्‍यायो । त्यतिबेला फकल्यान्डमा १५ घण्टाको रात हुन्थ्यो । दिन एक्कैछिनमा गए जस्तो हुन्थ्यो । 

हामी पुग्नुभन्दा अगाडि गुजग्रिनमा ब्रिटिसका गोरा सेना र अर्जेन्टिनीहरूबीच भीषण युद्ध भएको थियो । त्यहाँ हामी पुग्दा ब्रिटिसले लिएका अर्जेन्टिनी युद्धबन्दीहरू थिए । अर्जेन्टिनीहरू देख्दा नेपालका मङ्गोल जाति झैँ अनुहारका थिए, तर केही अग्ला कदका । गु्रजग्रिनमा ब्रिटिस सेनाले अर्जेन्टिनी हवाइजहाजहरू खसालेको थियो । हामीले रातभर सुरक्षा र गस्ती गरिरह्यौँ । रातमा नै बङ्कर पनि खन्यौँ, यसैभित्र खाना खायौँ । म र मेरा एकजना साथीले राती एउटा बङ्करको पानी खायौँ । भोलिपल्ट उज्यालो हुँदा त्यहीँ पानीमा एक अर्जेन्टिनी सेनाको लास सडेको देखियो । युद्धका खास आकृतिहरू यस्ता हुन्छन् । 

गोरखा फौज गुजग्रिनदेखि टुम्बल डाउन, टु सिस्टर्स, माउन्ट विलियम तिर पानीजहाजमा अघि बढ्यो । पानीमा पनि अर्जेन्टिनीले पानीमा पनि धराप थापेका रहेछन् । पानीजहाज धरापमा अल्झियो । डाइभिङ टोली आएर खुस्काएपछि मात्र हामी अगाडि जान सक्यौँ । अगाडि गोराहरूको हवाई सेनाले क्लियर गर्दै गइरहेको थियो । यस्तोमा ब्रिटिस र अर्जेन्टिनाको गोली हानाहान राती आकाशमा बिजुली चम्किएजस्तो हुन्थ्यो । हाम्रा शिरमाथि गोलीगोली जुध्दा बिजुली चम्किएजसरी निमेषभरको उज्यालो हुन्थ्यो । त्यतिबेला के भइरहेछ भन्ने नै समझमा आउन सकिरहेको थिएन । हामी अगाडि बढ्दै जाँदा गोराहरू पनि बाटोबाटोमा मरिराखेका भेटिन्थे । कोही आन्द्रा पाखामा निस्किएर पनि नमरी बोलिरहेकै देखिन्थे । 

हामी गोरखाहरू एकादुई केही छिन अडिने बेला भेट भइहाल्दा ‘हामी पनि आधा घण्टामा मरिहाल्छौँ, जे बोल्नु छ बोलिहालौँ’ भन्थ्यौँ । लासहरू नाघ्दै जाँदा हामी पनि कतिबेला यस्तै अवस्थामा हुन्छौँ भन्ने सोच्दा मन द्रवीभूत भएर आउँथ्यो । स्ट्यान्ली पुग्ने बेला उज्यालो हुने बेला गोराहरूको टु प्यारा हवाई बलले कब्जा हेडक्वार्टर कब्जा गर्ने हाम्रो पालो आयो । 

हामी जुन १४ तारिखको बिहानीमा अर्जेन्टिनीहरू बसेको मुख्य केन्द्रीय किल्ला ध्वस्त पारेर कब्जा गर्न तयार थियौँ । त्यसो त गोरखाहरू कब्जा गर्न आउँदैछन् भन्ने चाल पाएरै अर्जेन्टिनीहरूको मनमा मृत्युको छायाँ आउन थालेको थियो होला । किनभने हामी ६ सय ५१ जना गोरखाहरू भए पनि बेलायतले ६ हजार गोरखाहरू छन् भन्ने पहिले व्यापक प्रचार गरेको थियो । उनीहरूलाई गोरखाहरूको खुकुरीले सय मिटर व्यासमा मार हान्छ भन्ने गोरा प्रचारले पनि त्राहीमाम बनाएको थियो ।

हामी गोरखाहरू संसारका सबैभन्दा वीर र लडाकु जाति भनेर अर्जेन्टिनाले चाल पाएको थियो । जब हामी उनीहरूको किल्लातर्फ अगाडि बढ्यौँ । पानीजहाजबाट उनीहरूले दुरविनले लस्करै गोरखा किल्लातर्फ बढेको देखेछन् । उनीहरूले तोपले हाने पनि गोरखाहरू अगाडि बढेको देखेर उनीहरू अत्तालिए । गोरा फौजले पनि उनीहरूलाई हानेको हानेकै गर्‍यो । यस्तोमा एकजना गोरखा नरध्वज राईलाई आर्टिलरीको मारले लाग्यो । उनको राइफल भाँचियो, झोला टुक्राटुक्रा भयो, तर उनलाई केही पनि भएन । युद्धमा पनि मर्न काल आउनै पर्छ भन्ने उदाहरण नरध्वज बने । 

जब गोरखाहरूले किल्लालाई घेराबन्दीमा पारे, र बन्दुक पड्काउन ठीक पोजिसन लिन थाले । अर्जेन्टिनाले सेतो झण्डा उचालेर आत्मसमर्पण गर्‍यो । हामीले बन्दुक पड्काउनु परेन । खाली गोरखाहरको संसारप्रसिद्ध सौर्यको गाथाले अर्जेन्टिनीहरू कायल बन्न पुगे । अन्ततः यही गोरखा नामले उनीहरूमाथि ब्रिटिसले फकल्यान्ड विजयी गर्‍यो, र पुनः आफ्नो अधीनमा राख्न सफल भयो । यसका मुख्य संघटक हामी गोरखाली बन्यौँ । 
जब स्ट्यान्ली बन्दरगाह कब्जा गर्‍र्यौँ, तब बाँच्यौँ भन्ने भयो ।   दुई हप्तासम्म खाना र आरामको अभावमा हाम्रो अवस्था दयनीय बन्दै गइरहेको थियो । त्यहाँको माइनस १३ डिग्रिको अत्यधिक चिसो तापक्रमले हामी सबै सुन्निएका थियौँ । दाह्री जुँगा बढेर आफ्नै साथीहरू चिन्न नसक्ने अवस्थामा पुगेका थिए । हामी एकअर्कालाई स्वरले मात्र पहिचान गर्न सक्थ्यौँ । किल्ला कब्जा गरेपछि हामीले अर्जेन्टिनाहरूले बडो जतनका साथ राखेका ससेज, चामल, मासु र चाउचाउ उपभोग गर्न पायौँ । 

लडाइँमा हुँदा पनि मान्छेले आफ्नो ज्यानको माया कति गर्छ भन्ने म आफूले त्यतिबेला अनुभूत गर्न पाएँ । जब हामीले बङ्करभित्र छिर्‍र्यौँ, बडो टीठलाग्दो तरिकाले अर्जेन्टिनीहरू लुकेर बसेका थिए । उनीहरू ‘हामीलाई नमार्नुस्’ भनी बिन्ती गरिरहेका थिए । मानौँ गोरखाले भेट्दा उनीहरू भोकाएको सिंहले भेट्यो भन्ने ठानिरहेका थिए ।

हामी गोरखाहरूमध्ये एक जना गोरखा बुद्धप्रसाद लिम्बुको युद्ध सकिएपछि बङ्कर सफाइ गर्ने क्रममा ग्रिनेड पड्किएर मृत्यु भयो । केही घाइते हुनु बाहेक अन्य गोरखाको हताहती भएन । हामी गोरखालाई भाग्यले साथ दिएको थियो । किनभने साउथ जर्जिया देखि हामी गोरखाहरूलाई अलि असुरक्षित बाटोबाट फकल्यान्ड लगिएको थियो भने गोराहरूको फौज अलि सुरक्षित मानिएको क्यानबेरा नोर्लान्ड जहाजबाट गएका थिए । त्यसमा ब्रिटिस स्कट गार्ड र वेल्स गार्डहरू थिए । त्यसमा अर्जेन्टिनाले बम खसाल्यो, र पानीजहाज पनि डुबाइदियो । त्यसमा पचास जति गोराहरू मरे । 

फकल्यान्ड युद्धअवधिमा ब्रिटिसका धेरै गोराहरू मरे । उनीहरूमा मर्नुमा उनीहरूको वेवास्तापन पनि कारक थियो । गोली छेउमा झर्दा पनि उनीहरू चिया पकाइरहेको मैले नै भेट्थेँ । उनीहरू ‘म मरेँ भने श्रीमती धेरै पैसा पाउँछ’ भन्थे ।

युद्धको समय एक घण्टा पनि एक दिन जस्तो हुने रहेछ । आकाश चिरेर उड्ने गोलीले जिन्दगीलाई एकछिन सुस्ताएर सोच्ने फुर्सद नदिने रहेछ । पछि हट्ने होइन आफ्नो जितका लागि हरदम अगाडि बढ्नमात्र मनले भन्दोरहेछ ।   फकल्यान्डका ढुंगा माटो सबै बल्थे, तेलैतेलले गर्दा । युद्ध सकिएपछि दौड कार्यक्रम, गाउँवासीहरूबीच चिनजान कार्यक्रमहरू गर्‍यौँ । 

फकल्यान्ड युद्धबाट फर्किएपछि मेरो मनमा अरुको देशको सेना भएर जागिर खान मनको अन्तरकुन्तरमा सन्तोक भएन । मैले पूरा नोकरी गरिनँ । आफू ३२ वर्षको हुँदा स्वेच्छाले अवकाश आएँ । त्यसबीचमा हाकिमको आदेशमा कति झुट्टा हर्कतहरू गर्नुपर्‍यो, जुन आफ्नो मनले मानेको होइन ।

यदि फकल्यान्ड युद्धमा मरेको भए त्यसले मेरो परिवार र मेरो देशको लागि के महत्व राख्थ्यो भन्ने कुराले पिरोलिरह्यो । मैले अरुको देशको सेना हुनुमा जीवनको अर्थ भेटिनँ । त्यत्रो दुःख गर्दा पनि हाम्रो तलब ५० पाउन्ड हुँदा गोराको ६ सय पाउन्ड थियो । पेन्सन सिर्फ १० पाउन्ड थियो । यस्तो विभेद सहनु मेरो लागि स्वाभिमानको कुरा थिएन ।  अवकाश पछि गोरखाहरूको न्यायको लागि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) मा लागेर आन्दोलन गरेँ । यो सँगै अहिले गोरखाहरूको वित्तिय उन्नतिको लागि गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्थामा कोषाध्यक्षको रुपमा काम गर्दैछु । यसमा मलाई सन्तोक छ । 
 

लेखक चिनारी

बुद्धिराज राई
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७