६ राजदूतलाई तत्काल नफर्कन निर्देशन


२०८३ श्रावण ८ शुक्रबार १०:५६ बजे

काठमाडौं : सरकारले कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका ६ देशका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म पदमै रहेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले नयाँ राजदूत नियुक्ति प्रक्रिया टुंगो नलागेसम्म उनीहरूलाई स्वदेश नफर्कन निर्देशन दिने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक प्रतिनिधित्व निरन्तर कायम राख्न यस्तो निर्णय गरिएको हो।

परराष्ट्र मन्त्रालयका एक स्रोतले '६ देशका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन भनिएको छ,' भन्दै नयाँ नियुक्तिमा ढिलाइ भएका कारण उनीहरूको कार्यअवधि अस्थायी रूपमा निरन्तरता दिइएको जनाएको छ।

सरकारको निर्णयअनुसार बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्ट का लागि कार्यरत नेपाली राजदूतहरू अर्को व्यवस्था नभएसम्म आफ्नो जिम्मेवारीमा रहनेछन्।

हाल बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वाग्ले, ब्राजिलमा निर्मलराज काफ्ले, म्यानमारमा हरिश्चन्द्र घिमिरे, अस्ट्रियास्थित राष्ट्रसंघीय स्थायी नियोगका स्थायी प्रतिनिधि भरत रेग्मी तथा इजिप्टका लागि सुशील लम्साल नेपाली राजदूतका रूपमा कार्यरत छन्।

उनीहरूको कार्यकाल सकिएपछि स्वदेश फर्कने तयारी भइरहेका बेला सरकारले नयाँ राजदूत नियुक्ति प्रक्रिया पूरा नभएकाले तत्कालका लागि उनीहरूलाई यथास्थानमै रहेर जिम्मेवारी सम्हाल्न निर्देशन दिएको हो।

सरकारले नयाँ राजदूत नियुक्तिको प्रक्रिया अघि बढाए पनि हालसम्म ती देशका लागि नयाँ नाम टुंगो नलागेकाले कूटनीतिक कामकारबाहीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले वर्तमान राजदूतहरूलाई अर्को निर्णय नआएसम्म पदमै कायम राख्ने निर्णय गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७