प्रहरीले इन्स्पेक्टरको माग संख्या बढायो, २१ बाट २९ पुग्यो


२०८३ श्रावण ८ शुक्रबार ११:३१ बजे

काठमाडौं : नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको खुला प्रतियोगितात्मक भर्नाका लागि माग गरिएको पद संख्या बढाएको छ। थप ८ पद समावेश गरेसँगै अब इन्स्पेक्टर पदका लागि कुल २९ पदमा भर्ना गरिने भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखा नक्सालले शुक्रबार सूचना जारी गर्दै यसअघि २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा माग संख्या संशोधन गरिएको जनाएको हो।

सूचनाअनुसार थप गरिएका ८ पदमध्ये अमर–अशक्त तथा प्रहरी परिवार समूहमा ४, खुलातर्फ २, महिलातर्फ १ र आदिवासी/जनजातितर्फ १ पद थप गरिएको छ। यससँगै प्रहरी निरीक्षक पदका लागि कुल माग संख्या २९ पुगेको नेपाल प्रहरीले जनाएको छ।

यसअघि प्रकाशित विज्ञापनमा खुला तथा समावेशी समूहअन्तर्गत विभिन्न शीर्षकमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको थियो। नयाँ सूचनापछि ती पदहरूको संख्या परिमार्जन गरिएको हो।

नेपाल प्रहरीका अनुसार सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालयसमेत विपक्षी रहेको रिट नं. ०७८–WO–०६६२ लगायतका उत्प्रेषण निवेदनमा २०७९ माघ २४ गते जारी परमादेश कार्यान्वयन गर्ने क्रममा समावेशी समूहसम्बन्धी आवश्यक कानुनी व्यवस्था मिलाइएको छ। सोही व्यवस्थाअनुसार कायम हुने रिक्त पदमध्ये समावेशी समूहको अनुपातअनुसार पदपूर्ति गरिने उल्लेख गरिएको छ।

सूचनामा आर्थिक वर्ष २०७९/८० मा समावेशी व्यवस्थाअन्तर्गत समावेश हुन नसकी गुम्न गएका पदहरूको क्षतिपूर्तिसम्बन्धी व्यवस्था पनि प्रचलित कानुनबमोजिम गरिने जनाइएको छ। नेपाल प्रहरीले संशोधित पद संख्याअनुसार भर्ना प्रक्रिया अघि बढ्ने भएकाले इच्छुक उम्मेदवारलाई अद्यावधिक सूचनाअनुसार तयारी गर्न आग्रह गरेको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७