कांग्रेस विभाजित अवस्थामा छ, एकताबिना लडाइँ जित्न सकिँदैन : एनपी साउद

‘यहाँ उपस्थित साथीहरू दास र लास होइनन्, उनीहरू पार्टीका भरोसा र विश्वास हुन्’


२०८३ श्रावण ६ बुधबार १६:५४ बजे

काठमाडौं : नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टी अहिले स्पष्ट दिशाविहीन र विभाजित अवस्थामा रहेको भन्दै नेतृत्वलाई एकताको पहल गर्न आग्रह गरेका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै साउदले पार्टीका लागि लामो समय संघर्ष गरेका नेता–कार्यकर्ता आफूहरूको पक्षमा रहेको दाबी गरे।

उनले भने,'आज जेल बसेका, दुःख पाएका, लाठी खाएका र पार्टीको भविष्यका लागि संघर्ष गरेका ८० प्रतिशत साथीहरू यहाँ उपस्थित हुनुहुन्छ। त्यसैले विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका साथीहरूलाई भन्न चाहन्छु, यहाँ उपस्थित साथीहरू दास र लास होइनन्, उनीहरू पार्टीका भरोसा र विश्वास हुन्।'  साउदले कार्यक्रममा सहभागी कार्यकर्ताहरू नै नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनको वास्तविक शक्ति भएको जिकिर गरे।

उनका अनुसार पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्न नसके कांग्रेसलाई थप जोखिम हुने छ। 'जबसम्म सबै मिलेर मात्रै लडाइँ जित्न सकिन्छ भन्ने मान्यता स्थापित हुँदैन, तबसम्म नेपाली कांग्रेस स्थापित हुन सक्दैन,' उनले भने, 'विशेष महाधिवेशनमा गएको र नगएको पक्षबीच एकताको पहल गर्न सकिएन भने नेपाली कांग्रेस अझ ठूलो जोखिममा पर्न सक्छ।'  साउदले पार्टी नेतृत्वलाई आन्तरिक एकता सुदृढ गर्दै कांग्रेसलाई बलियो बनाउने दिशामा अघि बढ्न आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७