पहिरोका कारण देशका ९ मुख्य राजमार्ग अवरुद्ध

केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन


२०८३ श्रावण ५ मंगलबार ०९:४५ बजे

काठमाडौं :  देशका विभिन्न जिल्लामा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सोमबार बिहान ६:५५ बजेसम्म ९ स्थानमा मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेश अन्तर्गत भोजपुरको मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्ग (राजदुवाली–ताल्चाजुङ सडक) भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकको वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै, खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी–६, मात्तिम क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। मंगलबार बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था मूल्याङ्कन गर्दै सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) र वडा नं. २, कोदारीस्थित अरनिको राजमार्गमा दुई स्थानमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

मकवानपुरको कान्तिलोकपथ (हेटौंडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्ड) मा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको छ।

यसैगरी, रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–४, बोगटेखोला क्षेत्रमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर सडकखण्ड तथा सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले यात्रा अघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा बाढी–पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७