कागका कारण काठमाडौँमा फैलियो बर्ड फ्लु


२०८३ असार १४ आइतबार २०:०२ बजे

काठमाडौँ :  काठमाडौँ उपत्यकामा पछिल्लो समय बर्डफ्लुको सङ्क्रमण तीव्र रूपमा फैलिनुमा काग मुख्य कारक रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कुखुरामा देखिएको बर्डफ्लुको सङ्क्रमणलाई केही हदसम्म नियन्त्रणमा लिन सकिए पनि कागमा देखिएको सङ्क्रमणले भने निकै ठूलो चुनौती सिर्जना गरेको छ। कागलाई नियन्त्रणमा लिन नसकिने भएकाले सदर चिडियाखानालगायत उपत्यकाका विभिन्न क्षेत्रमा कागकै माध्यमबाट सङ्क्रमण थप फैलिरहेको विभागको निष्कर्ष छ।

सङ्क्रमित काग एक ठाउँबाट अर्को ठाउँमा सहजै उडेर जाने भएकाले यसले रोग सार्ने दर उच्च रहेको डा. दाहालले बताए। कागमा देखिएको सङ्क्रमणको अवधि २१ दिनसम्म रहने भएकाले यस अवधिमा कागले धेरै ठाउँमा रोग फैलाउन सक्ने जोखिम रहेको उनको भनाइ छ। काग कहाँ मरेको छ भन्ने कुराको जानकारी पाउन गाह्रो हुने र त्यही मृत काग तथा त्यसको सुलीको माध्यमबाट बर्डफ्लुको भाइरस अन्य पन्छीमा समेत सर्ने गरेको पाइएको छ।

हाल काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा बर्डफ्लुको प्रभाव देखिएको छ भने देशभरका ११ जिल्लाका १०० भन्दा बढी स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ। यद्यपि, उपत्यकाका कीर्तिपुर र कागेश्वरी मनोहरा क्षेत्रबाहेक अन्य स्थानमा भने रोग नियन्त्रणमा आइसकेको विभागले जनाएको छ। बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक घातक सङ्क्रामक रोग भएकाले यसप्रति विशेष सावधानी अपनाउन विभागले आम नागरिक तथा पन्छीपालक किसानहरूलाई आग्रह गरेको छ।

रोगलाई थप फैलिन नदिन पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा एक विशेष ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी सक्रिय रूपमा काम गरिरहेको छ। सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा रोग देखिएका स्थानहरूमा नियन्त्रण अभियान सञ्चालन भइरहेको र सङ्क्रमणलाई पूर्ण रूपमा रोक्नका लागि हरसम्भव प्रयास भइरहेको विभागले स्पष्ट पारेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७