प्रधानमन्त्रीलाई अब पदमा बस्न सुहाउँदैन : झलनाथ खनाल

सीमासम्बन्धी अभिव्यक्ति \'राष्ट्रविरोधी\'


२०८३ जेठ १८ सोमबार ११:०४ बजे

काठमाडौं :  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्‌मा सीमा विवादबारे दिएको अभिव्यक्ति गलत र राष्ट्रविरोधी भएको भन्दै कडा आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनी दिएको बयानलाई ‘खतरनाक’ संज्ञा दिँदै खनालले उनलाई देशको कार्यकारी प्रमुखको कुर्सीमा बस्ने कुनै नैतिक अधिकार नभएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता खनालले लेखेका छन्, ‘हिजो प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतको जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिनुभयो। यो अत्यन्त गम्भीर, दु:खद, गलत र राष्ट्रविरोधी अभिव्यक्ति हो।’ नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएको स्मरण गराउँदै खनालले देशको भूमिमाथि भइरहेको अतिक्रमणलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिइएको आरोप लगाएका छन्। खनालले प्रधानमन्त्रीलाई प्रश्न गर्दै सोधेका छन्, ‘उनले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएका हुन्?’

प्रधानमन्त्री बालेनको यो अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात गरेको खनालको ठहर छ। राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न नसक्ने उल्लेख गर्दै खनालले उनलाई तत्काल नेपाली जनतासँग माफी माग्न माग गरेका छन्। प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी नमागेसम्म यसको निरन्तर विरोध र भर्त्सना गर्न उनले सम्पूर्ण देशभक्त जनता र राजनीतिक शक्तिहरूलाई जोडदार आग्रह गरेका छन्। साथै, सो विवादित गैरजिम्मेवार अभिव्यक्तिलाई संसद्को रेकर्डबाट तत्काल हटाउन खनालले सभामुख समक्ष माग समेत गरेका छन्।

यो विवादको सुरुवात आइतबार प्रतिनिधिसभा बैठकबाट भएको हो, जहाँ सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको दाबी गरेका थिए। संसद्‌मा बोल्दै प्रधानमन्त्री शाहले भनेका थिए, ‘तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ— भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खर मात्रै थाहा पायौँ, त्यही भएर दुवै देशले अध्ययन गरेर कसले कहाँ मिचेको छ, त्यसलाई बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ।’ सो क्रममा उनले सीमा अतिक्रमणको विषयमा बेलायत (इङ्ल्याण्ड) सरकारसँग समेत कुराकानी भइरहेको जानकारी दिएका थिए। संसद् जस्तो गरिमामय ठाउँमा देशको सीमा रक्षाको संवेदनशीलतालाई कमजोर बनाउने गरी आएको यो अभिव्यक्तिपछि प्रधानमन्त्री शाहको चौतर्फी विरोध र आलोचना भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७