संविधान संशोधनमा हर्क साम्पाङको प्रस्ताव : महिला सहभागिता ७० % अनिवार्य बनाउनुपर्छ
भूगोलको आधारमा पनि निर्वाचन क्षेत्र छुट्याउनुपर्छ
काठमाडौँः सुनसरी-१ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज रायले संविधान संशोधन कार्यदललाई दुई महत्त्वपूर्ण सुझाव पेस गरेका छन्।
मिति २०८३ साल जेठ १२ गते लेखिएको पत्रमार्फत उनले लैङ्गिक समानता र भौगोलिक प्रतिनिधित्वका विषयमा संवैधानिक प्रावधान थप्न आग्रह राखेका हुन्।
महिला सहभागितामा ७०% को माग
पहिलो सुझावमा सांसद रायले लैङ्गिक विभेद अन्त्य गर्नका लागि सबै राजनीतिक तथा निजामती सेवा एवम् निकायहरूमा महिलाको सहभागिता कम्तीमा ७०% हुनुपर्ने माग गरेका छन्।
उनले भनेका छन्, 'लैङ्गिक विभेदको अन्त्य गर्न सबै राजनीतिक वा निजामती सेवा, निकायहरूमा महिलाको सहभागिता ७०% रहनु पर्दछ।'
भूगोलका आधारमा निर्वाचन क्षेत्र फेरबदलको आग्रह
दोस्रो सुझावमा उनले निर्वाचन क्षेत्र निर्धारणमा केवल जनसंख्यालाई मात्र आधार मानिँदै आएको विद्यमान व्यवस्थाप्रति असहमति जनाएका छन्।
उनका अनुसार हिमाली र पहाडी जिल्लाहरू भौगोलिक दृष्टिले अत्यन्तै विशाल भएकाले ती क्षेत्रमा सेवा र विकास पुर्याउन कठिनाइ भइरहेको छ। त्यसैले जनसंख्याका साथसाथै भूगोललाई पनि आधार मानेर निर्वाचन क्षेत्र तोक्नुपर्ने उनको भनाइ छ।
आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता
पत्रमा उनले प्रधानमन्त्रीले संसद र जनताप्रतिको जिम्मेवारी निर्वाह नगरेको सन्दर्भमा आफू र आफ्नो पार्टी भने त्यो दायित्वबाट पछि नहट्ने बताएका छन्।
उनले थपेका छन्, 'प्रधानमन्त्रीले जनताको संसद प्रति अर्थात् जनता प्रति आफ्नो जिम्मेवारी बहन नगर्ने देशमा रहेर पनि हामीहामीले जिम्मेवारी पूर्ण रूपमा बहन गर्छौँ।'
पत्रमा उनले श्रम संस्कृति पार्टीका अध्यक्षका रूपमा हस्ताक्षर गरेका छन्।
.gif)

.png)

